पूर्ण रूपमा शान्ति सुरक्षा कायम राख्न सरकार दृढ छ : गृहमन्त्री लेखक

माघ ७, २०८१

रासस

Government is determined to maintain complete peace and security: Home Minister Author

विराटनगर — गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्ण रूपमा शान्ति सुरक्षा कायम राख्न दृढ रहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले अपराधजन्य काममा संलग्नलाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

गृहमन्त्री लेखकले लोकतन्त्रमा पेशागत स्वतन्त्रता हुने भएकाले बहस गरेको कारण वकिल, इलाज गरेका कारण चिकित्सकलाई कुटपिट गरिनु कुनै हालतमा सह्य नहुने र कुटपिटमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने बताए । उनले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापालाई केही दिन अगाडि झापामा भएको कुटपिटको घटनाको निन्दा गर्दै दोषीमाथि छानबिन गरी कारबाही गर्ने प्रतिवद्धता व्यक्तसमेत गरे । 

गृहमन्त्री लेखकले मुलुकमा आर्थिक र व्यावसायिक चलायमान गर्न, विदेशी लगानी भित्र्याउन, सुशासन र पारदर्शिता कायम राख्न, प्रशासन र सार्वजनिक सेवालाई चुस्त एवं दुरुस्त बनाउन सरकारले केही अध्यादेश ल्याएको स्पष्ट पारे ।

उनले संविधान संशोधनको छलफल प्रारम्भ भएको बताउँदै संशोधनका विषयवस्तुको पहिचान गर्ने, संविधानको सवल र दुर्बल पक्ष पहिचान गरी राजनीतिकदलसँग छलफल एवं सहमति कायम गरी संशोधनको वैधानिक प्रक्रियामा अगाडि बढ्ने बताए । 

रासस

Link copied successfully