काठमाडौँ — जलवायु परिवर्तनको मुद्दालाई विश्मै नेतृत्वदायी र जलवायु न्यायका लागि पैरवी गर्न सरकारले २०८२ को जेठमै सगरमाथा संवाद गर्न प्रस्ताव गरेको छ । आगामी जेठ २, ३ र ४ गते गर्न संवाद आयोजना गर्न प्रस्ताव गरिएको वन तथा वातावरण मन्त्रालयले सोमबार जानकारी दिएको हो ।
संवादलाई नेपालले अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको अंगका रूपमा विकास गर्ने गरी यही माघ ८ गते (मंगलबार) घोषणा गरी तयारीको सुरुआत गर्न लागेको मन्त्रालयका जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव महेश्वर ढकालले जानकारी दिएका हुन् ।
संयुक्त राष्ट्र संघले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा मनाउँदै छ । संघको प्रतिनिधित्व गर्दै विश्व मौसम संगठन र युनेस्कोले यही जनवरी २१ तारिखमा संयुक्त रूपमा अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको सुरुवात गर्दैछन् । यसै अवसरमा नेपालमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट सगरमाथा संवाद घोषणा गरिने उनले बताए ।
यसअघि २०७६ सालमा तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले अघि बढाएको सगरमाथा संवादको तयारी कोभिड–१९ कारण अन्तिम समयमा स्थगित गरिएको थियो ।
यही सन्दर्भमा नेपालले लामो प्रतिक्षापछि ‘सगरमाथा संवाद’ आयोजना गर्न तयारीलाई पुनः अघि बढाएको हो । परराष्ट्र र वन मन्त्रालयले विभिन्न समिति बनाएर तयारी थालेका छन् । यो संवाद हाललाई प्रत्येक दुई वर्षमा आयोजना गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।
संवादमा विशेष गरी पर्वतीय र सामुद्रिक देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख, जलवायु अनुसन्धानका
क्षेत्रमा काम गर्ने विज्ञ, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रका प्रतिनिधि, विषय विज्ञ तथा समाजमा प्रभाव पार्न सक्ने व्यक्तित्व, मिडियाका विज्ञलगायतलाई निमन्त्रणा गरिने बताइएको छ । पहिलो पटक हुन लागेको सगरमाथा संवादको विषय ‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ रहेको छ ।
