तानाशाह शैलीमा वर्तमान सरकार : अध्यक्ष नेपाल

माघ ६, २०८१

ओमप्रकाश ठाकुर

Current government in dictatorial style: President Nepal

सर्लाही — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार तानाशाह शैलीमा अघि बढिरहेको बताएका छन् । 

सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले गैरलोकतान्त्रिक आचरण बोकेको हातमा देश गएकाले उनीहरु तानाशाह शैलीमा अघि बढिरहेको बताएका हुन् । मुलुकको राजनीति सही दिशातर्फ जान नसकेको भन्दै नेता नेपालले सरकार असफल दिशामा गइरहेको दाबी गरे ।

पूर्वप्रधानमन्त्री नेपालले दुई ठुला पार्टी मिलेर संविधान संशोधनका नाममा सरकार बनाएर जनतालाई मूर्ख बनाउन खोजेको टिप्पणी गरे । ‘जनताको चाहना पूरा हुन सकेको छैन, जनताले सुरक्षा र रोजगारी चाहेका छन्,’ उनले भने, ‘तर सरकारलाई यो कुराको ध्यान नै छैन, अधिनायकवादी र निरंकुश शासन मात्र लाद्न खोजेको छ ।’ 

विचाराधिन रहेका विधेयक पूरा नगरी अध्यादेश ल्याउनु गलत रहेको बताउँदै नेता नेपालले सरकार पार्टी फेड्ने काम र अलोकतान्त्रिक गतिविधि गरिरहेको आरोप लगाए । वर्तमान सरकार समृद्ध नेपाल बनाउनुको साटो देशमा आर्थिक संकट निम्त्याउन र कंगालीतर्फ अघि बढेको नेता नेपालको तर्क छ । 

फरक प्रसंगमा नेता नेपालले एमालेसँगको एकता कुनै पनि हालतमा हुन नसक्ने भन्दै व्यवहार मिल्नेसँग एकता हुन सक्ने बताए । ‘माधव नेपालको नाम सुन्नेवित्तिकै एमालेका नेताहरुको सात्तो जान्छ, उनीहरुसँगको एकता सम्भव नै छैन, हामी जनताको विश्वास जितेर सरकार हाक्छौं,' उनले भने ।

ओमप्रकाश ठाकुर

Link copied successfully