सुप्रिम सहकारी ठगी प्रकरण : सुरु मुद्दाको सक्कल फाइल अदालतमा फेला नपरेपछि मुद्दा दर्तामा ढिलाइ

रविसँग २ करोड र छविसँग २ करोड ५० लाख व्यक्तिगत बिगो मागसहितको पूरक मुद्दा आज दर्ता हुने सम्भावना

माघ ४, २०८१

घनश्याम गौतम

Supreme Cooperative Fraud Case: Delay in registration of the case after the original case file was not found in the court

बुटवल — सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी रुपन्देही जिल्ला अदालतमा दर्ता भएको मुद्दाको सक्कल फाइल नै फेला नपरेपछि रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजीविरुद्धको पूरक मुद्दा दर्तामा ढिलाइ भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोजन फाइल तयार गरे पनि अदालतमा पुरानो फाइल फेला नपरेपछि ढिलाइ भएको स्रोतले बताएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले सुरु मुद्दामा २०८१ वैशाख ३ गते २८ जनालाई सहकारी ठगीसम्बन्धी मात्र कसुर लगाई १ अर्ब ३ करोड मात्र बिगो माग गरेको थियो । तर, बिहीबार सरकारी वकिल कार्यालयले राईसहितका १७ जनालाई सहकारी ठगी, संगठित अपराधको कसुर र बिगो थपसहितको थप मुद्दा दर्ता गराएको छ । बिहीबार नै पूरक जाहेरीअनुसार रवि र छविसहित १४ जनालाई थप प्रतिवादी कायम गरेर पूरक मुद्दा दर्ताको तयारी गरेको थियो । अन्तिम समयमा समय अभाव भन्दै मुद्दा दर्ता हुन सकेको थिएन । जिल्ला सरकारी वकिल कार्यालयकी सूचना अधिकारी एवं सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले आज (शुक्रबार) ३ बजेसम्ममा पूरक अभियोजन दर्ता हुने सम्भावना रहेको र शुक्रबार नभए आइतबार हुने बताइन् । ‘सकेसम्म आज नै हुन्छ,’ उनले भनिन्, ‘केही प्राविधिक अप्ठ्यारो परेको अवस्थामा मात्र आइतबारलाई जान सक्छ ।’

जिल्ला अदालत स्रोतका अनुसार २०८१ वैशाख ३ गते मुद्दा दर्ता गर्दा लामिछाने गृहमन्त्री थिए । प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको थिएन । तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र महान्यायाधिवक्ताले अध्ययन गर्ने भन्दै उक्त फाइल काठमाडौं मगाएका थिए । त्यो फाइल फिर्ता नभएकाले मुद्दा दर्तामा ढिलाइ भइरहेको स्रोतको दाबी छ । ‘आज काठमाडौंबाट फाइल आउने भन्ने चर्चा छ,’ स्रोतले भन्यो, ‘सक्कल फाइल आयो भने मात्र मुद्दा दर्ता हुन्छ, फाइल नआए के गर्ने भन्ने अझै अन्योल नै छ ।’ यसअघि सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका संस्थापक अध्यक्ष एवं हालका संरक्षक गितेन्द्रबाबु (जिबी) राई, सुप्रिमका वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ, कुमार रम्तेल, सागर केसीसहित २८ जनाविरुद्ध सहकारी ठगी सम्बन्धमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा रवि र छवि जोडिएका थिएनन् । 

तत्कालीन सरकारको जोड बलमा रविलाई निर्दोष रहेको कागजसमेत जिल्ला सरकारी वकिल कार्यालयबाट मगाइएको थियो । तत्कालीन गृह मन्त्री रहेका रवि, महान्यायाधिवक्ता रमण श्रेष्ठ, प्रधानमन्त्री दाहालको निर्देशनमा सक्कल फाइल नै काठमाडौं पुर्‍याएर फिर्ता नगरेकाले अहिले मुद्दा दर्तामा ढिलाइ भइरहेको अदालत स्रोतले बताएको छ । 

जिल्ला अदालतका स्रेस्तेदार एवं उपसचिव यज्ञमूर्ति ज्ञवालीले सुरु मुद्दाको सक्कल फाइल नभएका कारण मुद्दा दर्ता रोकिने कुनै कारण नरहेको तर, अदालतमा थप अभियोगको फाइल मात्र आएर रुजु भइरहेको बताए । ‘सुरु मुद्दाको सक्कल फाइल सर्वोच्चले माग गरेका कारण पठाएका थियौँ, त्यो आज हुलाक मार्फत आउँदै छ,’ उनले भने, ‘सुरक्षाका कारण व्यक्तिले बोकेर हिँड्न मिल्दैन, त्यसैले हुलाक मार्फत सुरक्षित रूपमा मगाइएको छ, आजै आइपुग्छ होला ।’ थप अभियोजनको फाइल रुजु भएर सकिएपछि मुद्दा दर्ता हुने उनले बताए । पूरक अभियोजनसम्बन्धी कुनै फाइल कार्यालयमा नआएकाले थप जानकारी नभएको उनले बताए । 

जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार नै दुवै अभियोग दर्ता गर्ने गरी तयारी गरेको थियो । सुप्रिम सहकारीका पूर्व अध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध २०८१ वैशाख ३ गते मुद्दा दर्ता भएको थियो । उक्त मुद्दा दर्ताका समयमा रवि लामिछाने गृहमन्त्री थिए । गृहमन्त्री भएकै कारण उनीविरुद्ध अनुसन्धान गर्न र मुद्दामा अभियोग लगाउन प्रहरीले सकेन । सुरु मुद्दामा राईसहित २८ जनाविरुद्ध सहकारी ठगीसम्बन्धी मात्र अभियोग थियो ।

प्रहरीले बिहीबार सुरु मुद्दाका १७ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराध मुद्दा दर्ता गरेको हो । थप कसुरमा संगठित अपराध र थप २ करोड ७ लाख रुपैयाँ थप बिगो माग गरिएको छ । सुरु मुद्दामा १ अर्ब ३ करोड बिगो रहेकोमा अहिले २८ जनाविरुद्ध २ करोड ७ लाख र पूरक जाहेरीका १४ जनाविरुद्ध ७ करोड गरी १ अर्ब १२ करोड बिगो माग गरेर मुद्दा दर्ताको तयारी भइरहेको छ । सुप्रिम सहकारीका १ हजार ८ सय ७२ जनाको जाहेरी छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब ३१ करोड अपचलन भएको अनुसन्धानले देखाएको छ ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully