खोटाङ — मध्यपहाडी लोकमार्ग अन्तरगत पङ्खुखोलामा निर्माणाधीन पुल अलपत्र परेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र ९ निर्मलीडाडााको बीचमा निर्माण कम्पनीले ठेक्का लिएर काम नगरेपछि अलपत्र परेको हो ।
करिब दुई करोड एक लाख रूपैयााको लागतमा २०७३ असोज ६ गतेसम्म सक्ने गरी २०७२ असोज ७ गते सिरुवा कन्ट्रक्सन प्रालिले सम्झौता गरेको थियो । पटक–पटक म्याद थप गर्दै २०७७ असोज ३० गतेसम्मका लागि अन्तिम पटक म्याद थपिएको मध्यपहाडी राजमार्ग योजनाका सूचना अधिकारी हर्क प्रधानले बताए ।
उनका अनुसार अहिलेसम्म भौतिक र वित्तीय गरी ३९.८४ प्रतिशत मात्र प्रगति देखिएको छ । ‘पटक–पटक म्याद थप गर्दै पछिल्लो पटक २०७७ असोज ३० गतेसम्मका लागि म्याद थप भएको थियो,’ प्रधानले भने,‘यो अवधिसम्म आइपुग्दा भौतिक र वित्तीय गरी ३९.८४ प्रतिशत मात्र देखिन्छ ।’ काम अलपत्र परेपछि २०८० जेठ १४ गते ठेक्का तोडिएको प्रधानले बताए । कामै नगरेपछि ठेक्का तोडेर निर्माण कम्पनीलाई कालोसूचिमा राखिएको प्रधानले सुनाए ।
उक्त पुल निर्माण पूरा गर्न स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पुगेको प्रधानले सुनाए । स्रोत सुनिश्चितता हुने साथ पुनः टेण्डर हुने प्रधानको भनाई छ । ‘पुल सक्नका लागि स्रोत सुनिश्चित गर्न अर्थमा फाइल पुगेको छ,’ प्रधानले भने,‘स्रोत सुनिश्चितता हुनासाथ टेण्डर आह्वान हुन्छ ।’
काम अलपत्र परेपछि यातायात सञ्चालनमा समस्या भएको दिक्तेल रूपाकोट मझुवागढी–९ निर्मलीडाँडाका वडाअध्यक्ष दिनेश कठायतले बताए । बेलामा काम नथालिए आन्दोलनमा उत्रने समेत कठायतले सुनाए । ‘मध्यपहाडीजस्तो सडकको पुलको अवस्था यस्तो छ,’ कठायतले भने,‘यसप्रति बेलैमा सम्वन्धित निकायको ध्यान जानु पर्छ, होइन भने हामी आन्दोलन गर्छौ ।’
