फलामखानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री

माघ ४, २०८१

कान्तिपुर संवाददाता

Iron mines and fertilizer factories are opening, no need to worry about energy consumption: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिन नपर्ने बताएका छन् । 

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान) को रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपतका ठाउँ आफैं बनाउने भएकाले बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताएका हुन्  । सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट विजुली उत्पादनको मार्गचित्र तयार गरेको छ । 

'हामीसँग आठ वटा औद्योगिक क्षेत्रहरू छन् । धौबादी फलाम खानी र मल कारखाना खोल्दैछौँ । दैलेखमा ग्याँस उत्पादन हुँदैछ । ध्वस्त भएको उद्योगहरूले पुनर्जीवन पाउँदैछन् । ती सबैमा ऊर्जाका खपत हुनेछ,' प्रधानमन्त्री ओलीले भने ।

देशलाई आधुनिकीकरण र विकास गर्दै अँध्यारोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरुको  योगदानको प्रशंसा गर्दै उनले भने, 'तपाईँहरू लगानी गर्नुस्, लगानी खोन्दै अरुलाई खोला दिइरहनु पर्दैन ।'

त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको स्पष्ट गर्दै आगामी १५ दिनपछि हुने संसद्को अधिवेशनमा पेश गरी दुई महिनाभित्र पारित गर्ने जनाए । 

कान्तिपुर संवाददाता

Link copied successfully