गृहमन्त्री लेखक भन्छन् : कांग्रेस-एमालेबीच कुनै समस्या र अप्ठ्यारा छैनन् 

माघ ३, २०८१

कान्तिपुर संवाददाता

Home Minister Author says: There are no problems and difficulties between Congress and UML

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले कांग्रेस र नेकपा एमालेको सरकारमा कुनै समस्या नरहेको दाबी गरेका छन् । बिहीबार काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगति विवरणबारे जानकारी गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

'नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रो बीचमा कुनै समस्या छैन । दुई दल सम्मिलित सरकारमा कुनै बाधा, व्यवधान र अफ्ठ्याराहरु छैनन् । आफ्ना आफ्ना मन्त्रालयमा थप राम्रो काम कसरी गर्ने ? भन्ने कुरामा छलफल भएको छ,' गृहमन्त्री लेखकले भने । 

कांग्रेसबाट मन्त्री बनेका सबैले दुई दलबीच भएको ७ बुँदे सहमतिअनुसार नै अघि बढ्ने कुरा गरेको पनि गृहमन्त्री लेखकले बताए । उनले अगाडि भने, 'सबै माननीय मन्त्रीज्युहरुबाट आएको कुरा भनेको नेकपा एमाले र नेपाली काँग्रेसको बीचमा बनेको सात बुँदे सहमतिअनुसार यो समीकरणलाई लिएर अघि बढ्ने कुरामा नै केन्द्रित भएर काम गर्ने हो, सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढी भन्दा बढी सेवा, राम्रो ढंगबाट प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्नेकुरामा केन्द्रित भएर काम गर्ने विषयमै छलफल भएको छ । हामी दुई दलका बीचमा कुनै समस्या छैन भन्ने नै हाम्रो निष्कर्ष हो ।'

त्यस्तै गृहमन्त्री लेखकले काठमाडौं जिल्ला अदालत परिसरमा बुधवार अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात निन्दनीय भएको बताए । उनले अराजक गतिविधि गर्नेलाई कारबाही हुने बताए । 

कान्तिपुर

Link copied successfully