बडूको संयोजकत्वमा कांग्रेस संसदीय दल अनुशासन समिति गठन

माघ ३, २०८१

कान्तिपुर संवाददाता

Formation of Congress Parliamentary Party Disciplinary Committee under the chairmanship of Badu

काठमाडौँ — संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा संसदीय दल अनुशासन समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दल केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बडूको नेतृत्वमा अनुशासन समिति गठन गर्ने निर्णय लिएको हो ।

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले दार्चुलाबाट निर्वाचित सांसद बडूको संयोजकत्वमा संसदीय दल अनुशासन समिति गठन गरिएको जानकारी दिएका हुन् ।

‘अहिले संसदीय दलसँग सम्बन्धित तीन निर्णय पास गरिएका छन् । सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा संसदीय दल अनुशासन समिति गठन गर्ने निर्णय भएको छ,' उनले भने, 'संसदीय दलको विधानअनुसार प्रत्येक संसदीय समितिमा एक/एक जना संयोजक तोक्ने व्यवस्थाअनुसार पहिला तोकिएका संयोजकहरू एक जना मन्त्री, एक जना समितिको सभापति, एक जना प्रमुख सचेतक भएकाले त्यसमा अर्थ समितिमा डा. प्रकाशशरण महत, लेखा समितिमा सञ्जय गौतम, कृषि समिति संयोजकमा चन्दा चौधरीलाई नियुक्त गर्ने निर्णयलाई सदर गरियो ।'

कांग्रेसले संसदीय समितिमा रहेका विधेयकहरूलाई तत्काल पास गर्न सहजीकरण गर्ने र नयाँ विधेयक ल्याउन सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । 

कांग्रेसले संविधान कार्यान्वयनका केही अत्यावश्यक विधेयक संसद्मा छिटो भन्दा छिटो ल्याउन आग्रह गर्ने निर्णय पनि गरेको घिमिरेले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully