पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी

माघ ३, २०८१

कान्तिपुर संवाददाता

Deuba took information about the progress of the work with the ministers participating in the government from the party

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन् ।

बिहीबार बिहान निजी निवास बुढानीलकण्ठमा बोलाएर सभापति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन् ।

हालसम्म ३ जना मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताए ।

उनले मन्त्रालयले सोचेअनुसारको काममा तिब्रता दिन नसकेको उल्लेख गरे । छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरूले सुझाव दिनुभएको बताए ।

उनले भने, ‘नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरूको उपस्थिति भएको छ । त्यसमा नेपाली कांग्रेसको तर्फबाट आफूले सम्हालेको मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरूले आफूले सम्हालेको मन्त्रालयको बारेमा विस्तृत जानकारी दिइरहनुभएको छ । के राम्रा काम भए, कसरी प्रभावकारी बनाउने, कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने काम भइरहेको छ । अहिलेसम्म तीन वटा मन्त्रालयको विस्तृत जानकारी दिइएको छ । आफ्नो मन्त्रालयको ब्रिफिङ भइरहेको छ । उहाँहरूले सुझाव पनि दिनुभएको छ ।’

उनले अध्यादेशको बारेमा सकारात्मक छलफल भएको बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully