अखिल (क्रान्तिकारी) काे अध्यक्षमा एक दर्जन आकांक्षी

उमेर हदले बाहिरिएका पूर्वविद्यार्थी नेताहरूद्वारा पार्टीमा उचित जिम्मेवारी दिन माग

माघ ३, २०८१

कान्तिपुर संवाददाता

A dozen aspirants for the chairmanship of Akhil (Revolutionary).

काठमाडौँ — माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हद लागेपछि अध्यक्ष पदका लागि एक दर्जन युवा आकांक्षी देखिएका छन् ।

अखिल (क्रान्तिकारी) को पुस १४ मा भएको निर्वाचनमा उमेर हद लगाउनुपर्ने पक्षमा बहुमत आएपछि ३२ वर्ष मुनिका युवाहरूबीच नेतृत्वको दौड सुरु भएको छ ।

माओवादीले विद्यार्थी संगठनमा लामो समयदेखि पुरानै नेता दोहोरिने परम्परा ताेड्दै  उमेर हद लगाएर युवालाई अघि सार्ने निर्णय गरेको थियो । विद्यार्थीमा उमेर हद लागेपछि करिब साढे दुई सय विद्यार्थी नेताहरू बाहिरिएका छन् । संगठनबाट बाहिरिएका नेताहरूले पार्टीमा उचित जिम्मेवारी दिन माग गरेका छन् ।

अखिलको नेतृत्वका लागि माघ १२ मा प्रत्यक्ष निर्वाचित हुने माओवादी केन्द्रीय सदस्य एवं विद्यार्थी इञ्चार्ज हिमाल शर्माले जानकारी दिए ।

अध्यक्ष हुने दौडमा विजयप्रकाश सापकोटा, योगेन्द्र बुढा, उपदेश यादव, श्याम रोका, तिर्सना हमाल, प्रविना अधिकारी, रोशन थापा मगर, हेमन्त राई, सुदीन पौडेल र गोविन्द बानियाँ छन् । त्यस्तै महासचिवको हुने दौडमा  देवकी कार्की, देवेन्द्र शर्मा र अटल आचार्य छन् । अखिल क्रान्तिकारी एक नेताका अनुसार अध्यक्षका केही दाबेदार उपाध्यक्ष र महासचिव पद सुनिश्चित गर्न उम्मेदवार हुने बताएका छन् ।  

अखिल क्रान्तिकारीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा र उपाध्यक्ष पम्फा भुसाल र महासचिव देव गुरुङले निकटलाई नेतृत्वका लागि अघि सार्ने तयारी गरेका छन् ।

नेतृत्व चयनका लागि सातै प्रदेशमा निर्वाचन हुनेछ । माघ ५ मा मनोयन गरी १२ मा चुनाव गर्ने कार्यतालिका छ ।विद्यार्थी संगठनका इञ्चार्ज शर्माले नेतृत्वका लागि ३२ वर्षमुनिका युवाहरुबीच कडा प्रतिस्पर्धा हुने बताए । उमेर हद लागू भएपछि यसले विद्यार्थी संगठनमा युवाबीच हुने प्रतिस्पर्धाले नयाँ तरङ्ग ल्याएको बताए ।

‘माघ १२ मा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन हुनेछ’ उनले भने, ‘संगठनमा उमेर हद लागेपछि युवा विद्यार्थीबीच नेतृत्व लिन रोचक प्रतिस्पर्धा सुरु भइरहेको छ ।’

विद्यार्थी संगठनमा लागेको उमेर हदले ३२ वर्षमाथिका युवाहरु पार्टीका विभिन्न संगठनमा जोडिने भएकाले त्यसले सकारात्मक सन्देश दिएको बताए । ‘अब स्ववियु निर्वाचनमा पनि युवाहरु नेतृत्वमा आउने बाटो खुलेको छ,’ उनले भने, ‘हाम्रो पार्टीमा युवाहरू ठूलो संख्यामा लामबद्ध हुनेछन् ।’

अखिल क्रान्तिकारीमा पुस दोस्रो साता उमेर हद लगाउने/नलगाउने विषयमा प्रत्यक्ष निर्वाचन भएको थियो ।  करिब दुई हजार चार सय मतदाता रहेकामा १ हजार ७ सय ८९ मत खसेको थियो । मत परिणाम अनुसार उमेर हद लगाउनुपर्ने पक्षमा ९ सय र नलगाउने पक्षमा ८ सय ७९ मत खसेको थियो । माओवादी पार्टीभित्र उमेर हद लगाउने पक्षमा दुई खेमा थियो । उमेर हद लगाउने पक्षमा उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा थिए ।

विद्यार्थी संगठनबाट बिदा हुने नेताहरूलाई पार्टीका संगठनमा जिम्मेवारी दिन माग भएको छ । गत साता सकिएको केन्द्रीय समिति बैठकमा पूर्वविद्यार्थी नेताहरुले पार्टीमा उचित जिम्मेवारी दिन माग गरेका थिए ।

पूर्वविद्यार्थी नेताहरूलाई  जिम्मेवारी दिनेबारे उपमहासचिव शक्ति बस्नेत, इञ्चार्ज हिमाल शर्मा र अखिल क्रान्तिकारीकी निवर्तमान अध्यक्ष पञ्चा सिंहको कार्यद बनाएको थियो । कार्यदलको प्रतिवेदनका आधारमा पूर्वविद्यार्थी नेतालाई जिम्मेवारी दिनेबारे टुंगो लाग्न बाँकी छ ।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य रञ्जित तामाङले पूर्वविद्यार्थी नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिनुपर्ने बताए ।

‘पूर्वविद्यार्थी नेताहरूलाई पार्टीका क्रियाशील कमिटीमा अवसर दिनुपर्छ । विद्यार्थी संगठनमा काम गरेका अढाइ सय पूर्वविद्यार्थी नेताहरुलाई सम्मानजनक बिदाइ गरी पार्टीमा जिम्मेवारी दिनुपर्छ,’ उनले भने, ‘साथीहरुको व्यवस्थापकीय पक्षलाई ध्यानमा राखेर अघि बढ्नुपर्छ ।’

उनले पार्टीका सबै तहमा कम्तीमा २० प्रतिशत युवालाई जिम्मेवारी दिने माग भइरहेको बताए । ‘पार्टीमा २० प्रतिशत युवालाई सबै तहमा अवसर दिएर नेतृत्वको रूपमा अघि बढाउनुपर्छ,’ उनले भने, ‘पार्टीमा युवा नेतृत्व बढाउँदै जाने यो अवसर हो ।'

उनले उमेर हदलका कारण खास विद्यार्थीहरुले नेतृत्व गर्ने अवसर आएको बताए । ‘अब खास विद्यार्थीले नेतृत्व हुने गरी जबरजस्त पुस्तान्तरणमा गयो,’ उनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully