साइबेरियासम्मबाट आए ३४ प्रजातिका पानीचरा

गत वर्ष ३२ प्रजातिका ५ सय ४३ पानीचरा भेटिएकामा यस पटक ३४ प्रजातिका २ हजार ३ सय ७४ पानीचरा गणना

माघ ३, २०८१

रमेशकुमार पौडेल

34 species of waterfowl from as far as Siberia

चितवन — सदरमुकाम भरतपुरदेखि २० किमि पश्चिममा छ दिव्यनगर । भरतपुर–मेघौली सडकदेखि केही तल धानखेती हुने फाँट छ । यही फाँटमा चिसो छल्न साइबेरियादेखि उडेर हजारौं पानीचरा आइपुग्छन् । केही पानीचरा सगरमाथाभन्दा पनि माथिबाट उडेर आउँदै यहाँ रोकिन्छन् ।

दिव्यनगर फाँटलाई मुकाम बनाएर साइबेरियादेखि आउने मुख्य पानीचरा हो– ‘कमन क्रेन’ अर्थात् लक्ष्मण सारस । त्यसलाई स्थानीयले कर्‍याङकुरुङ भन्छन् । यो चरा दिव्यनगरमा आएर हिउँदभर बस्ने गर्छ । कैलाली र कहिलेकाहीँ कोशीटप्पुतिर केही दिन रोकिए पनि दिव्यनगरमै हिउँद बिताउने यो चरा आउने क्रम अचेल घट्दै गएको नेपाल पन्छीविद् संघका केन्द्रीय अध्यक्ष हठन चौधरीले बताए । बाँकी पृष्ठ ९

यो पटक भने कर्‍याङकुरुङको संख्या केही बढेको छ । पुस २२ को बिहान दिव्यनगरको फाँटमा हठन चौधरीसहितको टोलीले हिउँदमा बसाइँसराइ गरेर आउने पानीचराको अनुगमन गरेको थियो । त्यस क्रममा लक्ष्मण सारस ३२ वटा भेटिएका चौधरीले जानकारी दिए । गत वर्ष भने १७ वटा मात्र लक्ष्मण सारस भेटिएका थिए । दिव्यनगरकै त्यो फाँटमा पाँच वर्षअघि सन् २०२० मा २४२ वटा लक्ष्मण सारस भेटिएका थिए । 

लक्ष्मण सारस कम हुँदै गए पनि दिव्यनगर फाँट चराले नछाडेको संरक्षणकर्मी बताउँछन् । दिव्यनगर फाँटमा यस पटक ३४ प्रजातिका पानीचरा भेटिएका छन् । कुल पानीचराको संख्या २ हजार ३ सय ७५ रहेको चौधरीले जानकारी दिए । ‘गत वर्षको तुलनामा प्रजाति र संख्या बढेको पाइयो,’ उनले भने, ‘गत वर्ष ३२ प्रजातिका ५ सय ४३ वटा मात्र पानी चरा भेटिएका थिए । यस पटक दुई प्रजाति बढी देखिए । चराको संख्या पनि धेरै पाइयो ।’ गत वर्ष देखिएका फानी चरा रातो जुन बुकल्ला, मभौला जलेवा, सुइरो ठुँडे र टिमटिमा यो पटक भने उनले देखेनन् ।

चराका चार प्रजाति यो वर्ष नआए पनि अघिल्लो वर्ष नदेखिएका ठूलो सेतो बकुल्ला, हुटिट्याउँ, भारक चाहा, पानी गौँथली, मलाहा चिल र ठूलो माटीकोरे यो पटक भेटिए । गणनामा २७५ वटा पानी गौँथलीको हूल नै भेटियो । यो पटक सबैभन्दा बढी ‘बार हेडेड गुज’ अर्थात् खोया हाँस ८४२ वटा भेटिएका छन् । गत वर्ष यो हाँस १९८ वटा फेला परेका थिए । खोया हाँस सगरमाथाभन्दा पनि बढी उचाइमा उड्ने पन्छी हो ।

सबैभन्दा बढी उचाइमा उड्ने तीन पन्छीमध्ये दुई दिव्यनगरमा भेटिन्छन् । पन्छीविद् चौधरीका अनुसार सबैभन्दा बढी १३ हजार मिटरमा उड्ने चरा ‘रुपाल्स भल्चर’ हो । ‘यो नेपालमा पाइँदैन र आउँदैन पनि । कर्‍याङकुरुङ ११ हजार मिटर र तेस्रो नम्बरमा खोया हाँस ९ हजार मिटरमा उड्छ,’ उनले भने, ‘अर्थात् सगरमाथाभन्दा पनि अग्लो उचाइमा उड्ने कर्‍याङकुरुङ र खोया हाँस दिव्यनगर आउँछन् ।’ 

 करिब ४ सय बिघामा रहेको दिव्यनगरको फाँट भरतपुर महानगरपालिका–२६ मा पर्छ । फाँटबाट लगभग ३ किमि उत्तरमा नारायणी नदी छ । दक्षिणमा केही पर चितवन निकुञ्ज र राप्ती नदी छ । खेतको वातावरण सिमसारको जस्तै भएका कारण धेरै पानीचरा यहाँ आउने गरेको पन्छीविद् चौधरीले बताए । ‘साइबेरियामा चिसो बढेसँगै खानाको अभाव हुन्छ, त्यसैले आहारा खोज्दै चरा हिमाल नाघेर दक्षिण आउँछन्,’ उनले भने । 

 दिव्यनगरमा गणकले जमिनमा बस्ने अन्य चरा पनि गनेका थिए । ४६ प्रजातिका त्यस्ता चरा ६७५ वटा देखापरेको चौधरीले बताए । ‘मान्छेले खेतीका लागि मन पराएको फाँटमा चरा कति झुम्मिँदा रहेछन् भन्ने उदाहरण दिव्यनगर हो,’ उनले भने, ‘पानीचरा जे छन्, ती कृषिका लागि उपयोगी छन् । यिनले अन्न हैन, कीरा, फट्याङ्ग्रा, गगँटा, भ्यागुता, छेपारो, सर्प, साना माछा खान्छन् ।’ 

भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले चरा संरक्षणका लागि वडा कार्यालयले पनि चेतनामूलक कार्यक्रम गर्न बजेट छुट्याएको बताए । गत वर्ष ५० हजार र यो वर्ष १ लाख रुपैयाँ बजेट व्यवस्था गरेको उनले जानकारी दिए । 

नेपालका पानी चराको गणना सन् १९८७ मा सुरु भएको हो । दिव्यनगरको फाँटमा ८ वर्षयता चरा अनुगमन चलिरहेको छ । ‘कर्‍याङकुरुङ यहाँ देखिएकाले चराप्रेमीको ध्यान तानियो । पछि कर्‍याङकुरुङ अर्थात् लक्ष्मण सारस मात्र नभएर अरू चरा पनि हेरौं भन्ने भएपछि ८ वर्षयता नियमितजसो हिउँदमा चरा गणना हुँदै आएको छ,’ दिव्यनगरको छिमेकी गाउँ भरतपुर–२५ घर भएका पन्छीविद् चौधरीले भने । 

दिव्यनगर आडको सिसै गाउँका ७५ वर्षीय उत्तम चौधरीले ३०/४० वर्ष पहिला गाउँको खेतमा कर्‍याङकुरुङको ठुल्ठूला बथान आएर बस्ने गरेका बताए । ‘कर्‍याङकुरुङ उड्दा बादल लागे जसरी छाया पर्ने गर्थ्यो,’ उनले भने । दिव्यनगर घान्द्रुके चोकमा २०२४ सालदेखि बस्दै आएका टीकाराम पोखरेलले कर्‍याङकुरुङका ६/७ वटा बथान हुने, एउटै बथानमा ७०/८० वटा कर्‍याङकुरुङ देखिने गरेको सुनाए । ‘तर अचेल खेत सर्लक्क छैनन्, घरको संख्या बढेको छ । विद्युत्को सबस्टेसन बन्दै छ । उद्योग पनि छन् । नेपाली सेनाले पनि त्यही क्षेत्रमा प्यारा जम्पिङ तालिम चलाउँछ,’ उनले भने ।

चरा संरक्षणका लागि भरतपुरका राप्ती र नारायणी नदी आडका २२ देखि २८ नम्बर वडामा गत वर्षदेखि चेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको छ । ‘हामीले सक्ने गरेका छौं । उद्योग, कारखाना, सबस्टेसनजस्ता संरचना निर्माण हामीले चाहेर मात्र रोक्न सकिने कुरा भएन, चराको महत्त्वपूर्ण बासस्थल जोगाउन सबै लाग्नुपर्ने देखियो,’ वडाध्यक्ष खनालले भने ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully