अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने सरकारको तयारी

माघ २, २०८१

कान्तिपुर संवाददाता

The preparation of the government to call the parliament meeting as soon as the ordinance is issued

काठमाडौँ — सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेको अध्यादेश जारी हुनासाथ संसद्को बैठक बोलाउने तयारी गरेको छ । सरकारले पठाएका पाँच अध्यादेशमध्ये सोमबार चार अध्यादेश जारी भइसकेका छन् भने वन, निकुञ्ज र भूमिसम्वन्धी अध्यादेश गम्भीर भएको भन्दै शितलनिवासले ‘होल्ड’मा राखेको छ ।

राष्ट्रपति पौडेलले कानूनी विज्ञ र सल्लाहकारहरूलाई अध्यादेशले गरेको प्रवन्ध, अर्न्तरार्ष्ट्रिय सन्धि, सम्झौता र अदालतबाट जारी भएका नजिरसमेतलाई ध्यानमा राखेर अध्ययन गर्न निर्देशन दिएका छन् ।

‘प्रस्तावित प्रवन्धले निकुञ्ज र नदी किनारका सरकारी जग्गा समेतको दुरुपयोग हुनसक्ने जोखिम देखेरै राष्ट्रपतिले गहिरो अध्ययन नगरी जारी नगरौ भन्नु भएकाले नै ‘होल्ड’मा राखिएको हो,’ शितल निवास स्रोतले भन्यो । संसद् बैठक बोलाउने निर्णय गरेपछि राष्ट्रपतिलाई अध्यादेश जारी गर्न नैतिक संकट पर्ने भएकाले सरकार पहिला अध्यादेश जारी हुने प्रतिक्षामा रहेको सरकारका एक मन्त्रीले बताए ।

अध्यादेश जारी हुनसाथ लगतै मन्त्रिपरिषद् बैठक बसेर संसद् बैठक आह्वान सम्वन्धी निर्णय गर्ने सरकारका एक मन्त्रीले बताए । कांग्रेस नेताहरूको अरुचीका कारण राजनीतिक दल सम्वन्धी अध्यादेश भने यसपटक नआउने भएको छ । बालुवाटार स्रोतका अनुसार राजनीतिक दल सम्वन्धी ऐन २०७३ लाई संशोधन गर्न अब विधेयकनै संसद्‌मा लगिने भएको छ ।

राजनीतिक दल विभाजन गर्न ऐनमा रहेको केन्द्रीय कमिटी र संसदीय दलको चालिस प्रतिशत आवश्यक हुने व्यवस्थामा कुनै एकमा भएपनि हुनेगरी ‘र’ को ठाउँमा वा राखेर विधेयक अघि बढाउने गृहकार्य भइरहेको स्रोतले बतायो ।

कान्तिपुर

Link copied successfully