काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कसैको पार्टी फुटाउने र जोड्ने काममा नलाग्ने बताएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सुशासन प्रवर्द्धन र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश सार्वजनिकीकरण गर्न बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा ओलीले उक्त कुरा बताएका हुन् ।
एमालेबाट विभाजित भएको नेकपा समाजवादीलाई फुटाउन दल विभाजन गर्न अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओलीले यस्तो धारणा सार्वजनिक गरेका हुन् । ‘पार्टी फुटाउन संसद्को बैठक नबोलाएको भनेर पनि हल्ला गरिएको छ,’ उनले भने, ‘आफूले २० प्रतिशत पुर्याए पार्टी फुटाउन सकिने कानुन ल्याउने अनि अरूलाई गाली गर्ने ?’
आफू यसअघि प्रधानमन्त्री हुँदा दल र दल त्यागसम्बन्धी ऐनमा ल्याउँदा कोलाहल मच्याएकाले त्यतिबेला फिर्ता गरेको उनले बताए । ‘अहिले सरकारमा बसेर पार्टी जोड्ने र फुटाउने होइन, काम गर्ने कुरामा केन्द्रित छौं,’ उनले भने । सुशासन र विकासका लागि सरकारले अध्यादेश जारी गरेको पनि उनले बताए ।
सरकारविरुद्ध आन्दोलन गर्न मोर्चा बनाउने कुरा सुनेको भन्दै उनले शान्तिपूर्ण र सभ्य रूपमा गरिने आन्दोलनको सम्मान गर्ने पनि बताए ।
