काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स्मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा कार्यरत महेश स्वाँर कान्तिपुर मिडिया ग्रुप(केएमजी) को सीईओमा नियुक्त भएका छन् ।
हावार्ड विजनेश स्कुलबाट मार्केटिङ स्ट्राटेजीको कोर्स गरेका र व्यवस्थापनमा स्नातकोत्तर गरेका स्वाँरसँग दुई दशकभन्दा लामो समयदेखि व्यवस्थापन र बजारमा काम गरेको अनुभव छ । बोटलर्स नेपाल र तराई टेलिभिजनमा काम गरेको अनुभव बटुलेका उनी नेपाल मार्केटिङ संघका अध्यक्ष हुन्।
त्यस्तै म्युजिक भिडियो निर्देशक, अभिनेता तथा चर्चित कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरी कान्तिपुर टेलिभिजनको प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा नियुक्त भएका छन् । ठकुरीले यसअघि कान्तिपुर टिभीमा प्रमुख कार्यकारी निर्माता (सीईपी) र ‘कल कान्तिपुर’ तथा ‘इट्स माइ शो’ जस्ता चर्चित कार्यक्रममा प्रस्तोताको रुपमा काम गरेका थिए।
केएमजीले स्वाँर र ठकुरीको नयाँ जिम्मेवारीबाट संस्थाले थप गति र उचाइ हासिल गर्ने विश्वास लिएको छ ।
