यो सरकारसँग जनता खुसी छैनन्, कांग्रेसभित्रै पनि चरम असन्तुष्टि देखिन्छ : अध्यक्ष दाहाल

माघ १, २०८१

अनिश तिवारी

People are not happy with this government, there is extreme dissatisfaction even within the Congress: President Dahal

सिन्धुपाल्चोक — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार अपारदर्शी भएको बताएका छन् । मंगलबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको  सुकुटेमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा अध्यक्ष दाहालले वर्तमान सरकार ढल्ने निश्चित रहेको समेत ठोकुवा गरे । 

 'रातको १२ बजे सुटुक्क बसेर जनताबाट लुकाएर तत्कालीन गठबन्धनबाट सरकार बनाइएको छ ,यस अप्राकृतिक , असंवैधानिक सरकारप्रति जनता पनि खुसी छैनन् ,'दाहालले भने । 

कांग्रेसभित्रै सरकारलाई लिएर तीव्र असन्तुष्टि रहेकोसमेत उनको भनाइ  छ । 'यस सरकारप्रति जनता खुसी छैनन्, सरकारलाई लिएर कांग्रेसभित्र पनि गहिरो र चरम असन्तुष्टि देखिन्छ,'उनले भने । संवैधानिक व्यवस्था,विद्युत् प्राधिकरणमा हस्तक्षेप गर्दै सरकारले सदन छलेर अध्यादेशबाट शासन गरिरहेको उनले उल्लेख गरे । उनले सरकारलाई सदन खुलाउन माग गरेको र सदनका लागि कुरिरहेको बताए । 

सिन्धुपाल्चोकको प्रत्येक विपद्‍मा आफू साथमा रहेको र तातोपानी नाकालाई अझै सहज बनाउन चीनका राष्ट्रपति सी चिनफिङसँग तीन पटक सिधै कुरा गरेको उनले बताए । अरनिको र कोदारी राजमार्ग को जीर्ण अवस्था देखेर सुकुटे आएलगत्तै भौतिक तथा योजना मन्त्रालयमा कुरा गरेको र मन्त्रालयले चाँडै सडक स्तरोन्नति गर्ने प्रतिबद्वता गरेको उनले जानकारी दिए ।

लगातार सुकुटे आइरहनुमा गहिरो भावनात्मक सम्बन्ध समेत भएको उनले बताए ।  सोमबार सुकुटे पुगेका दाहालले मंगलबार माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने ८औं पुरुष र ७ औं महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्‍घाटन गरेका छन्।  

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully