पालिका प्रमुख र उपप्रमुख दुवै रिक्त भए कार्यवाहक तोक्न मिल्ने

माघ १, २०८१

कान्तिपुर संवाददाता

If both the head and deputy head of the municipality are vacant, acting can be appointed

काठमाडौँ — सरकारले पालिका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पद कुनै कारणले एकै पटक रिक्त भए कार्यवाहक तोक्न मिल्ने व्यवस्था गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन गर्ने गरी गत शुक्रबार मन्त्रिपरिषद्ले पारित गरेको अध्यादेशमा कार्यपालिका सदस्यले तत्काललाई आफूहरूमध्येबाट कार्यवाहक तोक्न सक्ने व्यवस्था गरिएको हो । सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जारी गरेका छन् ।

मुद्दामामिलाले विभिन्न पालिकामा एकैचोटि अध्यक्ष र उपाध्यक्ष वा प्रमुख र उपप्रमुख दुवै निलम्बनमा पर्दा तत्कालका लागि पालिकाको नेतृत्व कसले गर्ने भन्ने विवाद हुँदै आएको छ । केही अगाडि मुद्दाकै कारण ललितपुरको गोदावरी, सर्लाहीको बागमती र महोत्तरीको जलेश्वर नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पद रिक्त थियो । कार्यवाहक जिम्मेवारी नहुँदा पालिकाको काम नै प्रभावित हुने गरेको छ । 

यसअघि स्थानीय सरकार सञ्चालन ऐनमा उपाध्यक्ष वा उपप्रमुखले अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा कार्यभार सम्हाल्ने तोकिएको थियो । तर, अध्यक्ष वा प्रमुखसहित उपाध्यक्ष वा उपप्रमुख दुवै पद रिक्त भए कार्यवाहक जिम्मेवारी कसले पाउने भन्ने प्रस्ट कानुनी प्रावधान थिएन ।

यसअघि प्रस्ट कानुनी व्यवस्था नहुँदा केही पालिकामा कार्यवाहक तोक्ने विषयमा समस्या देखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बताए । ‘दुई वटै पद रिक्त भएका पालिकामा कार्यसम्पादन कसरी गर्ने/गराउने भन्ने समस्या आउने गरेको छ,’ उनले भने, ‘त्यही भएर ऐन संशोधन गरिएको हो ।’ 

सरकारले सिफारिस गरेको सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सोमबार राष्ट्रपति पौडेलले जारी गरेका हुन् ।

कान्तिपुर

Link copied successfully