दाङ — तुलसीपुरमा कपडा बैंक खोलिएको छ । यस्तो कपडा बैंक खुलेको छ कि जसमा कपडा हुनेले दिने र नहुनेले लिने व्यवस्था छ । कपडा दिए र लिएबापत कुनै शुल्क लाग्दैन । आफूसँग बढी भएका कपडा बैंकमा लगेर राखिदिन मिल्छ भने नहुनेले छानीछानी लैजान पाइन्छ ।
कसैसँग अनावश्यक बढी कपडा हुने र कसैसँग कपडा नै नहुने समस्याको समाधान गर्न शनिबारदेखि तुलसीपुरस्थित बसपार्क छेउमा यस्तो बैंक स्थापना गरिएको हो । सडक किनारमै एउटा स्टिलको दराज राखिएको छ जसमा लेखिएको छ– कपडा दान दराज । यही एउटा दराज नै बैंक हो । बैंकमा कपडा दिने र लिनेहरू निरन्तर आइरहन्छन् ।
कसैको घरमा कपडा खेर जाने र कसैलाई कपडा नभई जाडोले छट्पटिने अवस्था देखेपछि तुलसीपुर उपमहानगरपालिका–७ जितपुरका समाजसेवी उपेन्द्र पौडेलले कपडा बैंक स्थापनाको सोच बनाएका हुन् । घोराही उपमहानगरपालिका–१५ का रबिन ज्ञवालीले एउटा दराज र कपडा उपलब्ध गराएर बैंक स्थापनामा सहयोग पुर्याए । पौडेल र ज्ञवालीको पहलमा स्थापना भएको बैंक अहिले असहाय र विपन्न वर्गको भरोसा बनेको छ ।
जाडोको समयमा कपडा किन्न नसकी कठ्यांग्रिएर बस्न बाध्य मानिसहरू देखेपछि कपडा बैंकको सोच आएको पौडेलले बताए । ‘कसैलाई कपडा छोटो, लामो, साँघुरो, ठूलो या मन नपरेको हुन सक्छ । कसैले थोरै समय प्रयोग गरेर राखेको हुन सक्छ,’ उनले भने,‘यस्तो कपडाहरू घरमा त्यत्तिकै राख्नुभन्दा नभएकाहरूलाई दान गर्नु उपयुक्त हुन्छ । आर्थिक अवस्था कमजोर भएकाहरूले त्यस्तो कपडा लिएर काम चलाउँछन् ।’
धेरै मानिसहरूको चहलपहल हुने ठाउँ बसपार्क भएका कारण कपडा बैंक बसपार्कछेउमै स्थापना गरेको उनले बताए । पौडेलको योजनामा साथ दिएका ज्ञवालीले मानव सेवाको भावनाले कपडा बैंक स्थापनामा जोडिएको बताए । ‘मैले यसअघि पनि विभिन्न सामाजिक सेवाका कामहरू गरे हुँला तर यो निकै रचनात्मक र उपयोगी काम लाग्यो । त्यसकारण म यसमा जोडिएँ,’ उनले भने,‘यसमा सबैले साथ दिएमा समाजमा गरिबीका कारण कसैलाई नाङ्गै बस्नु पर्दैन । हुनेखानेहरूले पनि समाजसेवा गर्ने अवसर पाउनुहुन्छ ।’
बैंकबाट तुलसीपुरकी भूपति चौधरीले माघी पर्वका अवसरमा श्रीमान् र छोराछोरीका लागि कपडा लगिदिइन् । ‘माघीमा कपडा चाहिएको थियो । किन्ने पैसा थिएन,’ उनले भनिन्,‘बसपार्कमा कपडा पाइन्छ भन्ने सुनेपछि आएँ, केही कपडा लिएँ । फेरि चाहिए आउनुपर्ला ।’ आफ्नो घरबास नभएका तुलसीपुरकै नजरमान दमाइले पनि कपडा लिएर गए । ‘मेरो घरबास छैन, कमाइ छैन, सहयोग गर्ने कोही छैन,’ उनले भने,‘वर्षौं पुरानो कपडामा काम चलाइरहेको थिएा । अहिले कपडा बैंकबाट पाएँ । हामी जस्ता गरिबलाई यो बैंक ठूलो सहारा हो ।’
तुलसीपुरकै मीना विक पनि बैंकबाट कपडा लिएर गइन् । आर्थिक अवस्था कमजोर भएकी विकले बैंकबाट कपडा पाउाँदा सन्तोष मिलेको बताइन् । ‘काम केही पाइँदैन । कपडा किन्ने पैसा छैन । जाडोले छोराछोरी काापिरहेका छन्,’ उनले भनिन्,‘बैंकबाट छोराछोरी र मेरा लागि कपडा लिएको छु । कपडा पाइने बैंक देखेको थिइन् । पैसा नतिरी कपडा पाउँदा अचम्म परेको छु ।’
कपडा दान गर्नेहरू पनि गरिव दुःखीहरुलाई सहयोग गर्न पाएकोमा सन्तुष्टि व्यक्त गर्छन् । तुलसीपुर–७, नवलपुरका कृष्ण आचार्यले १० जोडा कपडा दान गर्न पाउँदा खुशी लागेको बताए । ‘महिला र बालबालिकाले लगाउन मिल्ने कपडा बैंकमा राखिदिएँ । घरमा प्रयोग नभएका कपडा अरुका लागि दान गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने,‘यो राम्रो अवधारणा हो । कसैलाई कपडा बढी भएर कता व्यवस्थापन गरौं भन्ने भएको हुन्छ, कसैलाई अभाव हुन्छ । बैंकले दुवै पक्षको आवश्यकतालाई एकैठाउँमा जोड्ने काम गरेको छ ।’
