काठमाडौँ — थुनछेक बहस नसकिएपछि रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा बस्न पर्नेदेखि बीआरआई सम्झौतामा ऋण भन्ने शब्द नपरेको परराष्ट्रमन्त्री आरजु राणा देउवाको भनाइसम्मका खबर कान्तिपुरमा सोमबार प्रकाशित भएका छन् ।
स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस भने जारी छ । थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाएको हो । मंगलबार माघे संक्रान्ति र माघीको बिदा भएकाले अब अदालत बुधबार मात्र खुल्नेछ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा ऋण भन्ने शब्द नै नरहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्पष्ट पारेकी छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा मन्त्री राणाले बीआरआईमा हस्ताक्षर गर्ने बित्तिकै ऋण लिनै पर्छ भन्ने बाध्यात्मक अवस्था नरहेको पनि बताइन् ।
त्यस्तै नेपाल टेलिकमले मुनाफा कमाएकोबारे पनि कान्तिपुरमा समाचार प्रकाशित छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०८०/८१ मा कुल ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेर ६ अर्ब २३ करोड मुनाफा आर्जन गरेको जनाएको छ । कम्पनीले ४१ अर्ब ५९ करोड रुपैयाँ सरकारलाई राजस्व बुझाएको छ ।
त्यसैगरी आजको मुख्य खबरमा चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन पनि छ । ६४ वर्षीय शेर्पाको आइतबार राति १२:१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
त्यस्तै आजको प्रमुख अन्तर्राष्ट्रिय खबरमा क्यालिफोर्निया डढेलोसम्बन्धी छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । अधिकारीहरूका अनुसार १६ जना बेपत्ता छन् ।अग्नि नियन्त्रकहरू हाल प्यालिसेड्स र इटनमा फैलिएको डढेलो नियन्त्रणमा खटिइरहेका अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । प्यालिसेड्समा ११ प्रतिशत मात्र डढेलो नियन्त्रण भएको छ ।
