लुम्बिनी — विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो ।
पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ ।
बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो ।
विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।
‘न्युयोर्क टाइम्स’ले लुम्बिनीलाई घुम्नुपर्ने गन्तव्यमा राख्दा अन्तर्राष्ट्रिय रूपमै ठूलो प्रचार हुन पुगेको लुम्बिनी पर्यटन परिषद्का सदस्य लीलामणि शर्माले बताए । ‘यो प्रचारले सबैको जिम्मेवारी थपियो, अब घुम्न आउने पाहुनालाई गुणस्तरीय सेवा दिनुपर्ने र थप सुसूचित गर्नुपर्ने चुनौती बढ्यो, यसतर्फ सबै पक्षले समन्वय गरेर हातेमालो गर्नु जरुरी छ,’ उनले भने ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक श्री वजिर भन्छन्, ‘लुम्बिनीमा राम्रो आतिथ्यता प्रदान गरे स्वदेश र विदेशबाट शान्तिको सन्देश तथा प्रेरणा लिन आउनेको ओइरो लाग्छ । यहाँ मायादेवी मन्दिर र अशोक स्तम्भ मात्र छैन, विविधतायुक्त बौद्ध संस्कृतिको सानो संसार नै छ ।’
लुम्बिनी मुलुकमा सबैभन्दा धेरै भ्रमण गरिने पर्यटकीय गन्तव्य हो । सन् २०२४ मा भारतसहित १ सय १२ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । तेस्रो मुलुकका १ लाख ११ हजार ४ सय ३ जना र भारतबाट ३ लाख ८ सय ८९ जना यहाँ आए । लुम्बिनीमा आएका तेस्रो मुलुकका पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा ४८ प्रतिशतले बढी हो ।
‘द न्युयोर्क टाइम्स’को आलेखले गैरबुद्धिस्ट पर्यटकको पनि आगमन बढाउने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । ‘बुद्धिस्टहरू त आएकै थिए, न्युयोर्क टाइम्सको आलेखमा ध्यानको पनि कुरा गरेकाले ध्यानी, आध्यात्मिक र घुम्न मन पराउनेको पनि संख्या बढ्छ । लुम्बिनी विश्वभरका मानिसको रोजाइमा पर्नेछ,’ उनले भने ।
