सिन्धुपाल्चोक — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सिन्धुपाल्चोकको पर्यटकीयस्थल चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटे आइपुगेका छन् । मंगलबार माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने ८औं पुरुष र ७ औं महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न दाहाल सुकुटे आएका हुन् ।
सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाका अनुसार प्रतियोगिताको सबै तयारी पूरा भएको छ । यसअघि पटक-पटक रिफ्रेस हुन सुकुटे आइरहने दाहाल यसपटक कार्यक्रमका लागि आएको उनले बताए ।
'सुकुटे क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विशेष सांगीतिक कार्यक्रम आयोजना गरिनेछ। प्रतियोगिताको तयारी र सहकार्य सुनिश्चित गर्न तीन संस्थाबीच औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो,'थापाले भने ।
नेपाल भलिबल संघ, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले संयुक्त रूपमा प्रतियोगिताको बारेमा जानकारी दिएका छन् । यसले सुकुटे क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने पर्यटन व्यवसायीले विश्वास व्यक्त गरेका छन् ।
