मलेसियामा आपत्कालीन ढोका खुल्यो, दिल्लीमा ‘अटोकरेक्सन’ ले जोगायो

आपत्कालीन ढोका खुलेर ‘स्लाइड’ निस्केपछि ४२ यात्रुलाई क्वालालम्पुरमै छाडेर निगमको वाइडबडी काठमाडौं फर्कियो, स्लाइड राख्न ३० लाख हाराहारी खर्च हुने 

पुस २९, २०८१

सुरज कुँवर

Emergency door opens in Malaysia, saved by 'autocorrection' in Delhi

काठमाडौँ — हरेक उडानअघि क्याबिनक्रुले यात्रुलाई आपत्कालीन ढोकाबारे जानकारी दिन्छन् र बिनाकारण ती ढोका नचलाउन पनि सचेत गराउँछन् । किनभने ती ढोका आपत्कालीन अवस्थामा जहाजको मूलढोकाबाट निस्कन नसकिने अवस्थाका लागि मात्र हुन् । 

पुस १२ मा मलेसियाबाट काठमाडौं फर्किन लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजको दायाँपट्टिको पहिलो आपत्कालीन ढोका बिनाकारण खुल्यो । सँगै ‘स्लाइड’ पनि खुल्यो । ‘स्लाइड’ संकटपूर्ण अवतरणका बेला यात्रुलाई बाहिर निकाल्न प्रयोग गरिन्छ । एक पटक निस्केको ‘स्लाइड’ पुनः प्रयोग गर्न मिल्दैन र नयाँ जडान गर्नुपर्छ । निगमका एक अधिकारीका अनुसार ३० लाख हाराहारी खर्च गरेर जहाजमा अर्को ‘स्लाइड’ राखिएको छ । 

ढोका मर्मत गरेर मात्रै उडान गर्न पाइने भएकाले त्यसका लागि निगमको मलेसियास्थित कार्यालयले क्वालालम्पुर विमानस्थलमा रहेको प्राविधिक टोलीको सहायता लिएको थियो । प्राविधिक टोलीले ‘स्लाइड’ बिनै ढोका मर्मत गर्‍यो । एउटा आपत्कालीन ढोकामा ‘स्लाइड’ नरहेकाले उडान सुरक्षा र जहाजको सन्तुलन मिलाउन ४२ यात्रुलाई क्लालालम्पुर छाडेर निगमको जहाज काठमाडौंका लागि उड्यो । जहाज त्यो दिन १ सय १० यात्रु लिएर आएको थियो । ढोका मर्मत गर्नुपर्दा उडान ४ घण्टा ढिलो भएको थियो । 

जहाज उत्पादक कम्पनी तथा अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार न्यारोबडी जहाजमा चार इमर्जेन्सी ढोका हुन्छन् । यीमध्ये कुनै एउटा ढोका यथावत् अवस्थामा नभए सोही अनुपातमा यात्रुको संख्या घटाएर मात्रै उडान गर्न पाइन्छ । त्यसैले ४२ यात्रुलाई क्वालालम्पुरमै छाडिएको थियो । ‘छाडिएका यात्रुलाई अरू विमानमा टिकट किनेर ३/४ दिन लगाई नेपाल ल्याइयो,’ निगमका एक अधिकारीले भने, ‘त्यसले २० लाख रुपैयाँभन्दा बढी अतिरिक्त खर्च भयो ।’ 

त्यो दिन न्यारोबडी जहाज काठमाडौं ल्याउने जिम्मेवारी क्याप्टेन भावना पन्तको थियो । उनी त्यो दिन यात्रुको सिटमा बसेर काठमाडौंबाट क्वालालम्पुर पुगेकी थिइन् । त्यहाँ विश्राम नगरी जहाज उडाएर फर्कंदै थिइन् । आपत्कालीन ढोका खुलेका बेला जहाजमै रहेकी पन्तले ‘जहाज सफाइ गर्ने ग्राउन्ड स्टाफले इमर्जेन्सी ढोका खोलेको हुन सक्ने’ रिपोर्टिङ गरेको निगमले जनाएको छ । 

उक्त घटना छानबिन गर्न पुस १४ मा निगमका इन्जिनियर पोषक ज्ञवालीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिमा इन्जिनियरहरू उपेन्द्र पौडेल, पवनकुमार करवाल, वरिष्ठ क्याप्टेन रवीन्द्रपुरुष ढकाल तथा रमण घिमिरे सदस्य छन् । समितिले मलेसियामा रहेको प्राविधिक सहायता कम्पनीमाथि छानबिन गरिरहेको छ । सफाइ कर्मचारीको संलग्नता देखिए खर्च भराउने र कानुनअनुसार कारबाही गर्ने निगमले जनाएको छ । 

यसबीच, निगमको वाइडबडी विमान ठूलो दुर्घटनाबाट बचेको खुलेको छ । उक्त विमान गत मंसिर २८ मा भारतको नयाँदिल्लीबाट काठमाडौं फर्किंदै थियो । दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट १८८ यात्रु राखेर मकालु वाइडबडी साँझ नेपाली समयअनुसार पौने ६ बजे उड्यो । 

ककपिटमा जहाजको कमान्डमा थिए प्रशिक्षक पाइलट विजय लामा । ३८ वर्ष जहाज उडाइसकेका लामासँगै कोपाइलट थिए अमूल्यरत्न शाक्य । जहाजको गति, पिच, उचाइ ठीक थियो । जहाजको लिफ्ट बढाउँदै शक्ति दिलाउने पखेटासँगै जोडिएका फ्ल्याप्सले काम गरिरहेका थिए । जहाज १० हजार फिट उचाइमा पुगिसकेको थिएन । जहाज निश्चित उचाइमा पुग्न नपाउँदै पाइलट लामाले अचानक फ्ल्याप्स फिर्ता ताने । यसले जहाजको कार्यक्षमतामा असर पार्‍यो ।

विमानको स्थिरतामा समस्या देखियो । जहाजको ‘एरोडायनामिक’ मा परिवर्तन आयो । इन्जिनमा अनावश्यक दबाब पर्‍यो । विमानको संरचनामा अचानक लोड परिवर्तन भयो । यसले उडान सुरक्षामा जोखिम बढायो । वाइडबडीको ककपिटमा रहेको प्रणालीले त्यसको संकेत गरेपछि चालक दलले परिस्थिति सम्हाल्यो । त्योसँगै जहाजले स्वाभाविक गति समात्यो । र, ठूलो दुर्घटना टर्‍यो । 

निगमले घटनाबारे छानबिन गर्न पुस ७ मा वरिष्ठ क्याप्टेन रवीन्द्रपुरुष ढकालको संयोजकत्वमा समिति बनाएको थियो । समितिले लामासहित उक्त उडानमा रहेका कोपाइलटलाई अतिरिक्त तालिम दिनुपर्ने सिफारिस गरेको छ । समितिले उडान दलका सदस्यहरूबीचको सम्पर्क र समन्वयमा कमी, उच्च कार्यभारको समयमा गति प्रभावकारी रूपमा अनुगमन नगर्नु, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड््योर (एसओपी) मानक पालना नगर्नुलाई कमजोरीका रूपमा औंल्याएको छ । 

समितिले पाइलटमा ‘सोमाटोग्राभिक इल्युजन’ (संवेदी भ्रम) रहेको हुन सक्ने पनि उल्लेख गरेको छ । उडानका क्रममा बाह्य वातावरण र ककपिटभित्रबारे मस्तिष्कले तालमेल मिलाउन नसकेर गलत तरिकाले व्याख्या गर्नुलाई ‘सोमाटोग्राभिक इल्युजन’ भनिन्छ । यस्तो भ्रमले पाइलटले सही निर्णय लिन सक्दैनन् । उडान वा अरू संवेदनशील गतिविधिमा मानसिक दबाब, थकान, तनाव वा अन्य कारणले संवेदी भ्रम हुने गर्छ । 

पाइलट लामाले छानबिन समितिसमक्ष आगामी दिनमा उडान समयमा ध्यान पुर्‍याउने, अझ सतर्क रहने र चेकलिस्टलाई पालना गर्ने प्रतिबद्धता जनाएका छन् । घटनाका सम्बन्धमा नागरिक उड्डयन प्राधिकरणअन्तर्गत नियमनकारी निकाय फ्लाइट सेफ्टी स्ट्यान्डडर्स विभागले पनि अनुसन्धान गरिरहेको छ । उडानमा संलग्न क्याप्टेन र कोपाइलट दुवै ग्राउन्डेड भएको विभागका अनुसन्धान अधिकारीले जानकारी दिए । 

पाइलटसमेत रहेका ती अधिकारीका अनुसार १० हजार फिटभन्दा मुनिको उचाइमा उडान गरिरहेको जहाजले कति गति राख्नुपर्ने मापदण्ड छ । ‘तर फ्ल्याप्सले काम गरिरहेका बेला निश्चित उचाइमा जहाज पुग्न नपाउँदै बन्द गर्दा जहाजको गति अत्यधिक बढ्यो । यसले अगाडि रहेका अरू जहाजलाई असर पुर्‍याउन सक्थ्यो वा भकुन्डो जस्तै झर्न सक्थ्यो,’ उनले भने । 

मलेसिया र दिल्ली घटनाको विषय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पनि पुगेको छ । गएको मंगलबार एमाले सांसद सुनिता बरालले दिल्ली उडानमा भएको लापरबाहीबारे निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्ट पार्न भनेकी थिइन् । कार्यकारी अध्यक्ष अधिकारीले यसबारे जवाफ भने दिएनन् ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully