स्काउटमा पदाधिकारीबीच विवाद

निलम्बन र गैरकर्मचारी नियुक्तिको विषयमा प्रमुख आयुक्त र कार्यकारी निर्देशकबीच आरोप/प्रत्यारोप

पुस २९, २०८१

सुदीप कैनी

Conflict between officials in Scout

काठमाडौँ — नेपाल स्काउट प्रमुख आयुक्त र कार्यकारी निर्देशकबीचको विवादमा फसेको छ । प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले कार्यकारी निर्देशक रामप्रसाद भट्टराईलाई निलम्बन गरेपछि विवाद सुरु भएको हो । 

रञ्जितले भट्टराईलाई ३ महिनाका लागि निलम्बन गर्दै स्काउट सदस्य अजित लामालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका छन् । मनोमानी निर्णय गरेकाले भट्टराईलाई निलम्बन गर्नुपरेको प्रमुख आयुक्त रञ्जितले बताएका छन् । भट्टराईले भने निलम्बनको पत्र नदिइएको र आफ्नो स्थानमा गैरकर्मचारी नियुक्त गरिएको बताएका छन् । 

भट्टराईले सुरक्षा माग गर्दै युवा तथा खेलकुद मन्त्रालयमा पत्राचार गरेपछि जिल्ला प्रशासन काठमाडौंले स्काउट केन्द्रीय कार्यालय लैनचौरमा शुक्रबारदेखि प्रहरी परिचालन गरेको छ । प्रहरीले कार्यकारी निर्देशकको कार्यकक्ष खाली गराएको छ । आइतबार खेलकुदमन्त्री तथा प्रमुख स्काउट तेजुलाल चौधरीले विवाद समाधान गर्न २४ घण्टाभित्र राष्ट्रिय कार्यकारी समितिको बैठक डाक्न प्रमुख आयुक्तलाई निर्देशन दिएका छन् । 

गत बिहीबार प्रमुख आयुक्त रञ्जितले भट्टराईलाई निलम्बन गरेका हुन् । यसअघि सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएका कारण स्काउट कर्मचारी नियमावलीअनुसार निलम्बन गरिएको रञ्जितको भनाइ छ । भट्टराईले स्काउटलाई दीर्घकालीन आर्थिक दायित्व पर्ने गरी कर्मचारी नियुक्त गरेको, आर्थिक अपचलन गरेर संस्थालाई हानि पुर्‍याएको, पद दुरुपयोग गरी गतिविधि गरेको र अनुमतिबिनै विदेश भ्रमणमा गएकाले छानबिनका लागि निलम्बन गरिएको पत्रमा उल्लेख छ । रञ्जितले निलम्बनको जानकारी स्काउटका संरक्षकसमेत रहेका प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई पठाएका छन् ।

भट्टराईले आफूले निलम्बनको पत्र नपाएको र अर्कै व्यक्तिलाई कार्यालय प्रमुख तोकेको जानकारी पाएपछि मन्त्रालयलाई पत्राचार गरेको बताए । ‘म बिदामा थिएँ, ३ दिनभित्र उपस्थित हुनु भनेर स्पष्टीकरण सोधियो,’ उनले भने, ‘अर्कै व्यक्तिलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएपछि मन्त्रालयमा खबर गरेको हुँ ।’ ऐन, नियम र नियमावलीविपरीत उपसचिव वा सोसरहको उपनिर्देशक पदमा लामालाई नियुक्त गरिएको उनको आरोप छ । 

गैरकर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएकामा कर्मचारीहरू समेत असन्तुष्ट छन् । ‘कार्यकारी प्रमुख भट्टराईले कानुनविपरीत कार्य गरेको भए कारबाही हुनुपर्छ,’ एक कर्मचारीले भने, ‘तर, मनोमानी रूपमा कार्यालय प्रमुख नियुक्ति गर्नु हुँदैन । भट्टराईको स्थानमा नियुक्त गर्न सकिने स्काउटमै अन्य अधिकृत पनि थिए । अर्कोतर्फ कर्मचारी नियुक्त गर्दा पदपूर्ति समितिबाट विज्ञापन भई प्रतिस्पर्धा गरेर मात्रै छनोट गर्नुपर्ने व्यवस्था छ ।’

कार्यकारी निर्देशकले स्काउटलाई कम्पनीजसरी सञ्चालन गर्दै आएकाले निलम्बन गर्नुपरेको प्रमुख आयुक्त रञ्जितले बताए । ‘मनोमानी निर्णय गर्ने प्रवृत्ति देखिएपछि कर्मचारी सेवा नियमावलीअनुसार निलम्बन गरेर अर्को प्रमुख नियुक्त गरिएको हो,’ उनले भने । लामालाई ६ महिनाका लागि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको उनले जानकारी दिए । खेलकुदमन्त्री चौधरीले बैठक डाक्न निर्देशन दिएकामा समेत असन्तुष्टि जनाउँदै उनले निर्देशन मान्न बाध्यकारी नहुने बताए ।

नेपाल स्काउट कर्मचारी सेवा नियमावली २०५२ मा कुनै जाँचबुझ परेमा मात्र जाँचबुझ समाप्त नभएसम्म कर्मचारी निलम्बन गर्न सकिने प्रावधान छ । त्यो स्काउटको पूर्ण कार्यसमितिले गर्ने कि आयुक्तले भन्ने स्पष्ट छैन । करारमा ६ महिनाका लागि कर्मचारी नियुक्त गर्न परे स्काउटको राष्ट्रिय सचिवले न्यूनतम योग्यता पुगेको व्यक्तिलाई सूचना जारी गरी नियुक्त गर्न आदेश दिनसक्ने नियमावलीमा उल्लेख छ । उक्त कार्य पदपूर्ति समितिले गर्नेछ । स्काउटमा सदस्यसचिव र पदपूर्ति समितिसमेत रिक्त छ ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully