हिउँ परेर ६ महिनासम्म सडक र बाटोघाटो बन्द हुने भएकाले गाउँ छोड्न बाध्य भएको स्थानीयको गुनासो
वीरेन्द्रनगर — हुम्लाको हिमालपारिको नाम्खा गाउँपालिका–६ मा छ, लिमीको जाङ गाउँ । १५ वर्षअघि यो गाउँमा ६३ घरधुरी थिए । अधिकांशजसो काठमाडौं, चीन, नेपालगन्जतिर बसाइँ सरेपछि अहिले दुई परिवार मात्रै बाँकी छन् ।
बर्सेनि ५–६ परिवार बसाइँ सरेपछि गाउँ रित्तिएको वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘एक वर्षअघिसम्म १७ घर थिए । यो वर्ष गाउँ नै रित्तो पारेर गए । दुई घरमा ४/५ जना मात्र बाँकी छन्,’ उनी भन्छन् ।
यी दुई घरका बासिन्दा पनि चिसो बढेपछि गत कात्तिकमा काठमाडौं गएका छन् । ‘अहिले ती दुई घरमा पनि ताल्चा झुन्डिएको छ । उनीहरू अब हिमपात सकिएपछि फर्किन्छन्,’ वडाध्यक्ष तामाङले भने । यहाँको भृकुटी आधारभूत विद्यालय ४ वर्षअघि नै बन्द भएको थियो ।
जाङवासीले गाउँ मात्र छोडेका छैनन् । पुरातत्त्व विभागलगायतको सिफारिस ल्याएर उनीहरूले स्थानीय गुम्बा र गाउँका अन्य सार्वजनिक सम्पत्ति पनि काठमाडौं लगेका छन् । ‘उनीहरूले ८३ घरधुरी छौं, ८१ घरधुरीको सहमतिमा गुम्बाका सामग्री सार्छौं भन्दै वडाको सिफारिस लिन आए । अरू सबै प्रक्रिया पुर्याएपछि वडाबाट पनि सिफारिस दियौं । लैजान मिल्ने जति सबै सामान लिएर गए,’ उनले भने ।
जाङका जनप्रतिनिधिले पनि राजीनामा दिएर गाउँ छोडेका छन् । महिला वडा सदस्य एवं कार्यपालिका सदस्य पुटी लामाले केही महिनाअघि वडामा राजीनामा बुझाएकी हुन् । उनको राजीनामा स्वीकृत भइसकेको छैन ।
अहिले गाउँमा दुई परिवारका ४ जना मात्र बस्ने गरेका स्थानीय सन्डुप तामाङले बताए । ‘गाउँले सबै गए । हाम्रो आर्थिक अवस्था कमजोर भएकाले गाउँ छोड्न सकेका छैनौं,’ उनले भने, ‘बाहिर हाम्रो घर छैन । सहरमा भाडा तिरेर धान्न सक्दैनौं । अहिले चिसो छल्न काठमाडौं पुगे पनि न्यायो सुरु भएपछि फर्किन्छौं ।’ गाउँमा बसेका परिवारले भने बाहिर जान नसक्ने र गाउँमै सेवासुविधा चाहिने माग गरेका छन् ।
लिमीमै पर्ने जाङको छिमेकी तिलगाउँ पनि बसाइँ सरेर रित्तो हुन थालेको छ । ४० घरधुरीमध्ये तिलमा अहिले २२ परिवार मात्रै छन् । साविकको लिमी गाविसलाई समेटेर पालिकाको ६ नम्बर वडा बनाइएको हो, जहाँ जाङ, तिल र हल्जी गाउँ छन् । हल्जीका बासिन्दा घरै छाडेर कोही नगएको वडाध्यक्ष तामाङ बताउँछन् । एकै वडाका यी गाउँमा एकबाट अर्कोमा पुग्न ४ घण्टाभन्दा बढी हिँड्नुपर्छ ।
तिब्बत सीमा जोडिएको लिमीका गाउँमा केही वर्षअघिसम्म चहलपहल राम्रै थियो । तर पछिल्ला वर्ष बसाइँ सर्ने क्रम निरन्तर छ । ‘गाउँमा पढाइको सुविधा नभएकाले बालबालिका र युवा पढ्नका लागि सहर पसे । बूढाबूढी र महिला मात्र गाउँमा बसेर कति दुःख गर्नु भन्ने भयो,’ बसाइँ सरेका कुन्चोक सेवाङ लामा भन्छन् ।
हिउँ परेर ६ महिनासम्म सडक र बाटोघाटो नै बन्द हुने भएकाले पनि गाउँ छोड्न बाध्य बनाएको उनी बताउँछन् । ‘गाउँमा ठूलो बिरामी भइहाले मर्नुको विकल्प छैन,’ उनले भने, ‘हेलिकोप्टर चार्टरबाहेक उपाय छैन । ठूलो खर्चमा हेलिकोप्टर बोलाउन सकिँदैन । त्यसैले पनि सबैले गाउँ छाडे ।’
