काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेशमार्फत ल्याइएका विधेयकहरु जनताको हितमा नहुने र जनताको आवाज सम्बोधन गर्न नसक्ने बताएका छन् । सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेत पाण्डेले भने, ‘संसदमार्फत नै सरकारले विधेयकका कामहरु अगाडि नबढाए विरोध गर्छौं ।'
उनले संसदको हिउँदे अधिवेशन छिटो संचालन गर्न माग गर्दै कांग्रेस–एमाले समिकरणको सरकारले जनताको हित हुने काम गर्न नसकेको समेत आरोप लगाए । माओवादी केन्द्र सरकार ताकेर नबसेको बताउँदै उनले माओवादी केन्द्र जनतासँग जोडिने अभियान रहेको र नताका समस्याहरु ल्याएर संसदमा राख्ने बताए ।
सचेतक पाण्डेले भने, ‘अहिले धेरै विधेयकहरु पारित भएका पनि छैनन् । अनि हामी निरन्तर समितिहरुमा छलफल गरेर छिटो समितिबाट सभामा लैजानुपर्छ भनेका छौं । तर सरकार जसरी अध्यायदेशबाट विधेयकहरु ल्याइरहेको छ यो बेठीक छ ।’ उनले अध्यादेश ल्याउने शैलीले ठिक ढंगले जनताका आवाजहरुको सम्बोधन गर्न नसक्ने बताउँदै छिटोभन्दा छिटो संसद् बोलाउनुपर्ने बताए ।
यो सरकारले ६ महिनासम्म जनताको बारेमा केही गर्न नसकेको बताउँदै संसदलाई छल्ने शैली बेठिक रहेको बताए । उनले थपे ‘नेकपा (माओवादी केन्द्र सरकारतिर नभई जनतातिर जान चाहिरहेको छ ।’
