आगामी महाधिवेशनमा सभापतिमा उठ्ने शशांकको संकेत

'विचार मिल्नेहरूसँग एकता हुन्छ, नमिले परिवार र बाहिरको भन्ने हुँदैन'

पुस २८, २०८१

दुर्गालाल केसी

An indication of Shashank rising to the chairmanship in the upcoming convention

दाङ — कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन सक्ने बताएका छन् । आइतबार दाङको घोराहीमा कांग्रेसका अगुवा कार्यकर्ताहरूसँगको भेटमा कोइरालाले अब आउने महाधिवेशनमा सभापति लड्ने सोच बनाई देशभर कांग्रेस नेता, कार्यकर्ताहरूलाई भेट्ने क्रममा दाङ आइपुगेको जानकारी दिए ।

त्यस्तै आगामी महाधिवेशनमा शेखर कोइरालालाई  सभापति छाड्न नसक्ने संकेतसमेत उनले गरे । रगतको नाताले मात्रै नहुने भन्दै उनले विचारको एकता नहुँदासम्म कोइराला परिवार एक हुनुको अर्थ नहुने धारणा राखे ।

'म अब पार्टी बनाउने अभियानमा छु । म नेतृत्व गरेर पार्टीलाई अझ बलियो बनाउन चाहन्छु । त्यसका लागि कार्यकर्ताको साथ र सहयोग चाहिन्छ । मैले त्यो साथ खोजेको छु । विचार मिल्नेहरूसँग एकता हुन्छ, नमिले परिवार र बाहिरको भन्ने हुँदैन,' उनले भने । 

विधानअनुसार कांग्रेसको महाधिवेशन चार-चार वर्षमा हुनुपर्छ । तर कांग्रेसले आफ्नो जीवनमा विधानको त्यो व्यवस्था मानेको छैन । चार वर्षमा हुनुपर्ने महाधिवेशनलाई कांग्रेसले धकेलेर साढे ५ वर्षसम्म पुर्‍याएको छ । नेताहरूले पार्टी विधानको बाध्यकारी पालना र समयमै १५औँ महाधिवेशन हुनुपर्ने विषयलाई जोड दिएर उठाएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन ०७८ को मंसिरमा भएको थियो । जसअनुसार विधानले तोकेबमोजिम नै महाधिवेशन हुने हो भने ०८२ को मंसिरमा महाधिवेशन भइसक्नुपर्छ ।

तर विधानमै यस्तो पनि व्यवस्था छ कि विशेष अवस्थामा थप एक वर्ष समय थप गर्न मिल्छ । त्यसरी थपिएको समयमा समेत महाधिवेशन नभए संविधानले थप छ महिना म्याद थपेर पार्टीको महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ । कांग्रेसले संविधानको यही व्यवस्थालाई अंगालेर १३ औँ महाधिवेशन भएको साढे पाँच वर्षपछि ०७८ मंसिरमा महाधिवेशन गरेको थियो । 

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully