काठमाडौँ — सत्तारुढ कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन तीन वर्षसम्म चल्ने दाबी गरेका छन् । कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सत्ता गठबन्धन आगामी आम निर्वाचनसम्म चल्ने थापाले दाबी गरेका हुन् ।
काठमाडौँमा आयोजित कार्यक्रममा सांसदसमेत रहेका महामन्त्री थापाले कांग्रेस र एमालेले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बनेको बताए । अहिले केपी शर्मा ओली नेतृत्वको सरकारले पनि गर्व गर्नुपर्ने खालका काम गर्नुपर्ने आवश्यकता रहेको थापाको भनाइ थियो ।
संसद्का दुई ठूला दल मिलेर सरकार गठन गर्दा मुलुकमा विकास हुने र नागरिकले राज्यबाट फाइदा पाउने महामन्त्री थापाको भनाइ थियो । 'कांग्रेस र एमालेले विगतमा नौ महिना, एक वर्ष, तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बन्दो रहेछ । त्यो विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि हुन्छ,' थापाले भने, 'यो पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्छ, तीन वर्ष भनेको सानो समय होइन । तीन वर्ष ठूला पार्टी मिलेर बनेको सरकारले चल्दै गर्दा नेपाली नागरिकले फाइदा पाउनुपर्छ ।'
विगतमा एमाले र कांग्रेस मिलेर गठन भएका सरकारले जनतालाई राम्रो हुने काम गरेको थापाको भनाइ थियो । कांग्रेस र एमाले मिलेर गठन भएका सरकारले २०४८ र २०७० सालमा संविधान पाएकोले अहिले के पाउने ? भन्ने प्रश्न उठ्ने थापाको भनाइ थियो ।
'अहिले केही पाउनुपर्दैन सबै कुरा सम्हाल्छौँ । अहिले सबै भन्दा बढी बिग्रेको अर्थतन्त्र हो । अर्थतन्त्रको क्षेत्रमा ठोस रूपमा सुधार हुनुपर्छ । अनि मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहन्छ, नत्र सरकार पहिला पनि थिए चलेकै थियो,' उनले भने, 'वर्तमान सत्ता समीकरणले दिनरात नभनी अर्थतन्त्र सुधारको लागि काम गरिरहेका छौँ । निजी क्षेत्रलाई व्यापार व्यवसायलाई खुकुलो र नीतिगत रूपमा सुधार गरौं भन्ने हो । धेरै कुरा बिग्रिएकाले थोरै समय लाग्छ तर वर्तमान सरकारले सम्हाल्छ ।’
