प्रधानमन्त्रीलाई रास्वपा सांसदको पत्र : कानुनको समग्र अध्ययनमा सहयोग गर्न तत्पर छु

पुस २७, २०८१

कान्तिपुर संवाददाता

RSVP MP's letter to the Prime Minister: I am ready to help in the overall study of the law

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर रास्वपाकी सांसद सुमना श्रेष्ठले देशका कानुनको समग्र अध्ययनमा आफू सहयोग गर्न तत्पर रहेको जनाएकी छन् ।

सरकारले दिने सेवालाई प्रभावकारी बनाउन गृहकार्य भइरहेको आफूलाई जानकारीमा आएकाले त्यस कार्यमा सघाउन आफू तयार रहेको भनेर सांसद श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पत्र लेखेकी हुन् । 

सांसद श्रेष्ठले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रको विषयमा उल्लेख गरिएको छ 'देशको कानुनको समग्र अध्ययनसम्बन्धी आवश्यक सहयोग गर्न आफू तत्पर रहेको जानकारी गराउन ।' प्रधानमन्त्री ओलीलाई सम्बोधन गरी पुस २४ मा सांसद श्रेष्ठले लेखेको पत्रमा सरकारले चालेको कदमबाट आफू निकै खुसी रहेको उल्लेख छ ।

'पत्रपत्रिकामार्फत सरकारले सेवा प्रभावकारी बनाउन बाधा पुर्‍याउने निर्देशिका, कार्यविधि र मापदण्डलाई खारेज गर्ने गृहकार्य सुरू गरेको बारे थाहा पाएँ, निकै खुसी लाग्यो,' श्रेष्ठको पत्रमा उल्लेख छ, 'सरकारले गर्नुपर्ने काम नै यही हो । तर यसैसँग के पनि जोड्न चाहेँ भने, यसमा नियमावलीसमेत हेरिनुपर्छ । यदि क्याबिनेटमा लगेर नियमावली पास गरिन्छ भने नियमावलीसमेत यसमा जोडिनुपर्छ । यस कार्यमा कुनै पनि किसिमको सहकार्य गर्न म तत्पर रहेको समेत जानकारी गराउन चाहन्छु ।'

सांसद श्रेष्ठले ओलीलाई लेखेको यो पत्र प्रधानमन्त्रीको सचिवालयमा दर्ता भएको छ । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता भएको यो पत्रको दर्ता नम्बर ५०८७ रहेको छ ।

सांसद श्रेष्ठले लेखेको यो पत्रबारे थप के कारबाही गरियो भन्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छैन ।

कान्तिपुर

Link copied successfully