जलवायु परिवर्तन मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : उपप्रधानमन्त्री पौडेल

पुस २७, २०८१

कान्तिपुर संवाददाता

Climate change is not a specific country but a global issue: Deputy Prime Minister Paudel

काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताएका छन् ।

काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको पनि बताए । जलवायु परिवर्तनका असर आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा समेत प्रस्ट रूपमा देखिँदै आएको पौडेलले बताए । 

जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै मुलुक मिलेर समाधानका प्रयास गर्नुपर्ने उपप्रधानमन्त्री पौडेलको भनाइ थियो । उनले जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेको बताए । आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । 

जलवायु परिवर्तनको मुद्दालाई कुनै एक मुलुक विशेषको बनाउन नहुने उपप्रधानमन्त्री पौडेलको भनाइ थियो । 'नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ र यसका असरहरू आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा समेत प्रस्ट रूपमा देखिँदै आएका छन्,' उनले भने, 'यो मुद्दा कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा हो । यसका लागि सबै मुलुकहरू मिलेर समाधानका प्रयास गर्नुपर्छ भन्ने विषयमा नेपालले अन्तर्राष्ट्रियस्तरमा समेत निरन्तर आवाज उठाउँदै आएको छ ।'

जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेको उपप्रधानमन्त्री पौडेलको भनाइ थियो । 'आर्थिक वृद्धिको इन्जिनको रूपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकूल प्रभाव पारेको छ,’ उनले भने ।

अर्थमन्त्री पौडेलले विश्व अर्थतन्त्रको महत्त्वपूर्ण हिस्साको रूपमा रहेको दक्षिण एसिया क्षेत्रमा आर्थिक वृद्धि र यसको दिगोपना तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनले चुनौती खडा गरेको पनि बताए । दक्षिण एसिया क्षेत्र भौगोलिक, आर्थिक एवं सामाजिक असमानताका हिसाबले विविधतापूर्ण रहेको र जनसङ्ख्याको ठूलो हिस्सा गरिबीको रेखामुनि रहेको अवस्थामा जलवायु परिवर्तनको प्रभावले झनै ठूलो आर्थिक एवं सामाजिक विषमता सिर्जना गर्न सक्नेतर्फ सबै सजग हुनुपर्ने पौडेलको भनाइ थियो । 

कान्तिपुर

Link copied successfully