भीर कोप्नेको भीरकै बास

‘धेरैलाई काम गर्न जाऔं भन्यौं । धेरै साथीहरूले जानाजानी कालको मुखमा काम गर्दैनौं भने, मान्छे थोरै भए पनि यो भीर एक वर्षमा छिचोल्छौं ।’

पुस २७, २०८१

केदार शिवाकोटी

Bhir Kopane's Bhir's residence

रिकु,दोलखा — माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पुग्ने प्रवेशमार्गको पारिपट्टि अजंगको सरकु भीर कोपिरहेको आवाज वारिसम्म सुनिन्छ । अक्करे भीरमा बाटो बनाउने काम भइरहेको छ त्यो पनि कुनै ठूला औजारबिनै । विगु–१ र गौरीशंकर–९ जोडने रिकुको भीरबाटै रिकुगाउँका स्थानीय लामाबगरमा किनमेलका लागि आउँथे ।

वारिवाट रिकुभीरमा बाटो छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर त्यही भीर कोपेर २ मिटर चौडा गोरेटो बनाउनेहरू भीरमा डोरीको सहारामा झुन्डिएर काम गरिरहेका छन् श्रमिकहरू ।  भीरमा माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रअन्तर्गत २२ मेगावाटको रोल्वालिङ खोला आयोजनाको सामान ओसार्न गोरेटो बनिरहेको हो ।

भीर कोप्नेहरू भीरमै रात काट्छन् ।उनीहरूको दैनिकी यही भीरमा चलिरहेको छ । यो भीरमा १३ जना काम गरिरहेका छन् । तलतिर तामाकोशी बगिरहेको छ । त्यहाँ पुग्नसमेत निकै कठिन छ । यस्तोमा बालुवा गिटी,सिमेन्ट ओसार्न तुइनको लठ्ठा कस्दै गर्दा भेटिए रिकुका ६४ वर्षीय नेत्रबहादुर खड्का । कहालीलाग्दो भीरमा उनले ४ दिनअघिको घटना निकै डरमर्दो भएको सुनाए । तारको लठ्ठा तान्ने क्रममा लठ्ठा खसेछ । ‘चार दिनअघि तुइनको तार तान्दै थियौं, एक महिना लगार बल्लतल्ल जोडने प्रयास गरेका थियौं,’ उनले सुनाए, अचानक लठ्ठा खुस्कियो, लठ्ठाले सोहोरेको भए, भीरबाट खसेर एकचिहान हुन्थ्यौँ ।’

Bhir Kopane's Bhir's residenceखसेको लठ्ठा पुनः काम गरिरहेका स्थानमा ल्याउन ४ दिन लागेको उनले बताए । रिकुगाउँ जाने बाटो भएकाले उनी दैनिक ज्यालादारीमा काम गरिरहेको उनले बताए । ‘यही भीरको बाटो हुँदै धेरै पटक लामाबगर आउजाउ गरेको छु,’उनले भने, डोरीमा र भित्ता छाम्दै हिँड्नुपर्थ्यो, यो बाटो बनेपछि आउजाउ निकै सहज हुन्छ ।’ गाउँ पुग्ने बाटोमा भीर भएकाले कुने समय तुइनको भरमा आउजाउ हुन्थ्यो । तुइनबाटै गाउँकी एक महिला र उनका नाबालक छोरा खसेर तामाकोशीमा बगेका थिए । भीरमा काम गर्ने उनी रिकुका एक्ला व्यक्ति हुन् ।

रिकुको भीर कुदिरहेका कालिञ्चोक गाउँपालिका-५ का तुलवीर थामीले एक महिनाअघि यहाँ आउन डर लागेको बताए । ‘काम गर्ने बेलामा तलतिर हेर्‍यो कि कहाली लाग्ने, काम छाडेर जाने मनसाय पनि बनाए, अन्य साथीहरूले बानी पर्छ भनेपछि काम गर्न थालेँ,’ उनले भने, हरेक दिन मृत्युसँग पौँठेजारी खेलेर काम गर्दै छौं, भीरमुनि चिसो पालमा रात काट्छौं ।’ एक महिनाअघिसम्म निकै डर मान्ने तुलवीरले नै डोरीको लठ्ठा समाउन लगाएर पैताला टेकाउनै नसकिने भीरबाट आउजाउ गर्नेलाई सघाइरहेका छन् । भीरमा काम गर्न निकै साहस चाहिने उनले बताए । ‘धेरै जना काम गर्न आएका थिए,’उनले भने ‘भीर देखेर चक्राउन थाल्नेहरूले काम गर्नै मानेन्, उनीहरू पाइला पनि नटेकी पारिबाटै फर्के ।’

Bhir Kopane's Bhir's residenceरोल्वालिङ खोला डाइभर्सनका लागि सामान बोक्न रिकुको साढे ४ किलोमिटर भीरमा बाटो बनाउने काम भइरहेको हो । जसमध्ये १ हजार ४ मिटर बाटो बनाइसकिएको छ । भीरमा प्रविधि प्रयोग गर्न कठिन भएकाले मान्छेले नै काम गरिएको हो । डोरीमा झुन्डिएर र बाँसको सहारामा भीरको पहरामा विस्फोट गर्नका काम भइरहेको छ ।

कालिञ्चोक गाउँपालिका–९ का २८ वर्षीय बुद्धमान थामीले भीर फुटाउने काम निकै जोखिमपूर्ण रहेको सुनाए । ‘बिहान उठ्नेबित्तिकै आज भीरमा के हुन्छ भन्ने सोचले सताउँछ, दिनदिनै भीरमा झुन्डिएर काम गर्न निकै सकस हुन्छ,’उनले भने, ‘खुट्टा यताउती भए तामाकोशी पुगिन्छ ।’

Bhir Kopane's Bhir's residenceसिन्धुलीबाट भीरमा रोजगारी खोज्दै आएका गोपाल मगरले दायाँबायाँ सामान्य असावधानीले ज्यानै जाने जोखिम भएको बताए । ‘निकै कठिन भीर रहेछ, यस्तो भीरमा पहिला काम गरेको थिइन्,’ उनले भने, ‘अहिले बानी परेको छ, भीरमा काम गर्न आउन नमान्ने धेरै भएकाले थोरैले भीर छिचोल्ने काम गरिरहेका छौं ।’

रिकुको भीरमा काम गर्नका लागि धेरैलाई भने पनि डराएर आउन नचाहने भएकाले थोरै जनशक्तिमा भीर छिचोल्ने काम भइरहेको समूहका मुख्य नाइके इन्द्रबहादुर थामीले बताए । ‘धेरैलाई काम गर्न जाऔं भन्यौं,’ उनले भने, ‘धेरै साथीहरूले जानाजानी कालको मुखमा काम गर्दैनौं भने, मान्छे थोरै भए पनि यो भीर एक वर्षमा छिचोल्छौं ।’

रिकु-भीरमा २ मिटरको गोरेटो बाटो बनेपछि च्छो–रोल्पा हिमताल जाने थप पदमार्ग खुल्ने छ । लामाबगरबाट यही भीरको पदमार्गबाट रिकु गाउँ हुँदै रोल्वालिङ क्षेत्र जाने बाटो छोटिने छ ।

केदार

Link copied successfully