इमेज सहकारी ठगीका अभियुक्त नेपालीसँग ५४७ जनाको मेलमिलाप

मिलापत्रबाट २३ करोड ७५ लाख बिगो घट्यो, नेपाली भने साढे ३ महिनादेखि पुर्पक्षका लागि थुनामा

पुस २६, २०८१

प्रकाश बराल

Reconciliation of 547 people with Nepalese accused of image cooperative fraud

बागलुङ — बचत रकम ठगीमा पुर्पक्षका लागि कारागारमा रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीसँग जाहेरवाला ५ सय ४७ बचतकर्ताले मेलमिलाप गरेका छन् । ठगिएको २३ करोड ७५ लाख ४२ हजार ३ सय ४० रुपैयाँ घरसारमा मिलेर पाएको भन्दै उनीहरूले मिलापत्र गरेका हुन् ।

जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले शुक्रबार सहकारी ठगीमा आंशिक मेलमिलाप भएको आदेश दिएको हो । पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवरसहित ५ सय ४७ जनाबाट मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएको र दफा ११८ (३) बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ । ‘यो निर्णयले विपक्षीको बिगो घटेको छ, मुद्दा सकिएको होइन,’ जिल्ला सरकारी वकिल पूर्णप्रसाद शर्माले भने, ‘यो नेपालकै नमुना आदेश हो ।’ यो आदेशबाट पीडितले ठगिएको रकम पाउने वातावरण बन्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी र जिल्ला प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले पीडितलाई जुटाउने र रकम फिर्ता दिलाउने वातावरणका लागि सहजीकरण गरेका थिए । ‘यो आदेशले नेपालीको जायजेथा, चलअचल सम्पत्तिबाट साना बचतकर्ताले पनि रकम फिर्ता पाउने वातावरण बन्छ,’ प्रजिअ सुवेदीले बताए, ‘मुद्दा चल्ने क्रम रहिरहन्छ, तर साना बचतकर्ताले केही न केही रकम फिर्ता पाएर जीवन गुजारा गर्न सक्छन्, यो सकारात्मक अभ्यास हो ।’ ठगी गर्ने जेल गएपछि पीडित अलपत्र पर्ने अवस्था अन्त्य गर्न यो आदेश उपयोगी भएको उनले बताए ।

ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीलाई जिल्ला अदालत बागलुङले गत असोज १५ मा पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनी अहिले पनि थुनामै छन् । नेपालीसहित इमेज सहकारीका सञ्चालक र कर्मचारी गरी १३ जनाविरुद्ध १ हजार ५ सय ७३ जनाले सहकारी ठगीको जाहेरी दिएका थिए । सहकारीको १ अर्ब ४५ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीविरुद्ध अदालतमा मुद्दा छ । नेपाली २०८० जेठ ४ देखि फरार थिए । तरलता अभाव भएकाले इमेज सहकारीको कार्यालय बन्द भएको सूचना ०८० वैशाख ६ मा टाँस गरिएपछि बचतकर्ताले जिल्ला प्रशासन, प्रहरी र अन्य सरोकारवाला निकाय गुहारेका थिए ।

प्रहरीले अनुसन्धान गरेपछि सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा चलाएको थियो । त्यति बेला नेपाली फरार थिए । उनलाई भने असोज पहिलो साता भारतको नयाँदिल्लीबाट पक्राउ गरेर ल्याइएको थियो । बचत ठगीमा इमेज सहकारीका सञ्चालकहरु चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पनि पुर्पक्षका लागि थुनामा छन् । सोही मुद्दामा ओमप्रसाद दर्जी भने धरौटीमा छुटेका थिए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully