हेलिकोप्टर उड्न दिने निकुञ्जको निर्णय खुम्बु पासाङल्हामु गाउँपालिकाले नमान्ने

व्यावसायिक उडान गर्न नदिने अडान

पुस २६, २०८१

भानुभक्त निरौला

Khumbu Pasanglhamu rural municipality will not accept the park's decision to allow helicopters to fly

सोलुखुम्बु — खुम्बु क्षेत्रमा हेलिकोप्टरको उडानलाई पहिलाकै अवस्थामा निरन्तरता दिने सगरमाथा राष्ट्रिय निकुञ्जको पछिल्लो कदम स्थानीय सरकारले नमान्ने भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले विज्ञप्ति जारी गर्दै निकुञ्जसहित भएको व्यावसायिक उडान गर्न नदिने पूर्व सहमतिबाट एकाएक पछि हट्ने राष्ट्रिय निकुञ्जको कदम प्रति घोर आपत्ति जनाएको छ ।

तीन तहका सरकार समन्वय, सहकार्य र सह–अस्तित्वका आधारमा सञ्चालन हुने संविधानको मर्म रहेको र वातावरण संरक्षण र जैविक विविधतासम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार स्थानीय सरकारमा निहित रहेको भन्दै पालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले खुम्बु क्षेत्रमा वातावरण खलबलिने गरी व्यावसायिक उडान गर्न नदिने स्पष्ट पारेका छन् ।

उनले विज्ञप्ति मार्फत विश्व सम्पदा सूचीमा रहेको क्षेत्रमा मानव र पशुपक्षीलाई शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने अधिकार खलल हुने गरी निश्चित पेसा तथा व्यवसायीहरूलाई मात्रै लाभ हुने व्यावसायिक उडान स्थानीय सरकारलाई स्वीकार्य नहुने स्पष्ट पारेका छन् । 

आपत्कालीन उद्धार, मालसामानको ढुवानीका लागि हवाई उड्ड्यनलाई सहज बनाउन पालिका तत्पर रहेको अवस्थामा व्यवसायीहरूले हेली उडान स्थगन गर्नु सामाजिक उत्तरदायित्वबाट विमुख हुन खोजेको आरोप पालिकाले लगाएको छ । निकुञ्जले भने सर्वपक्षीय छलफल मार्फत उद्धार तथा ढुवानीका लागि उडान भर्न दिने जनाएको छ । 

यसअघि हेली सञ्चालकहरूले खुम्बु क्षेत्रमा कुनै पनि उडान नभर्ने घोषणा गरे पछि जिल्ला प्रशासनले उडानको वातावरण बनाउनका लागि शान्ति सुरक्षाको जिम्मा लिँदै उडान रोक्न खोज्नेलाई कानुनी कारबाहीको चेतावनी दिएको थियो । लगत्तै सगरमाथा राष्ट्रिय निकुञ्ज रातारात आफ्नो पूर्ववर्ती अडानबाट पछि हट्दै शुल्क लिएर उडान खुल्ला गर्ने निष्कर्षमा पुगेको थियो ।

भानुभक्त

Link copied successfully