सतर्कता केन्द्रको डरले फाजिल कर्मचारीको धमाधम पदस्थापन

गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फाजिलमा रहेका नायब सुब्बादेखि सहसचिवसम्मका ७० जनाभन्दा बढी कर्मचारीले पाए जिम्मेवारी

पुस २६, २०८१

ऋषिराम पौड्याल

Due to the fear of the Vigilance Center, the posting of Fazil employees hastily

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सतर्कता केन्द्र लगाएर कारबाही गर्ने चेतावनी दिएपछि गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फाजिलमा रहेका कर्मचारीले जिम्मेवारी पाउन थालेका छन् ।

गृह र संघीय मामिला मन्त्रालयले फाजिलमा रहेका नायब सुब्बादेखि सहसचिवसम्मका ७० भन्दा बढी कर्मचारीलाई दरबन्दीअनुसार पदस्थापन गरिसकेका छन् । 

प्रधानमन्त्री कार्यालयले तीन दिनको समयावधि तोकेर सिंहदरबारमा हाजिर गरेर बसेका कामविहीन कर्मचारीको व्यवस्थापन तीन दिनभित्र नगरे सतर्कता केन्द्रले गर्ने अनुगमनका आधारमा सचिवहरूमाथि नै ‘कारबाही’ गर्ने आशयको पत्र आइतबार लेखेको थियो ।

यसअघि पनि कर्मचारीको व्यवस्थापन मिलाउन मुख्यसचिवले सचिवहरूकै बैठक राखेर निर्णय गराएका थिए । मुख्यसचिव एकनारायण अर्यालले नै पटकपटक पत्राचार गर्दा पनि मन्त्रालयका सचिवहरूले कर्मचारी सरुवामा अटेर गर्दै आएका थिए । त्यसैले सतर्कता केन्द्रको डर देखाइएको थियो । 

सामान्य प्रशासन मन्त्रालय र अन्य मन्त्रालयबीच समन्वय नहुँदा कहीँ कर्मचारी अभाव हुने र कहीँ कर्मचारी फाजिल हुने अवस्था छ । गृह मन्त्रालयका उपसचिव रामदत्त पाण्डेका अनुसार फाजिलमा रहेका मन्त्रालयका चार सहसचिवमध्ये दुई जनालाई प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।

गृहमा कामविहीन रहेका इन्द्रदेव यादवलाई मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई गृहमा सरुवा गरिएको छ । उनलाई सरुवा गरे पनि गृहमा दरबन्दी भने छैन । 

गृहमा फाजिलमा रहेका १३ उपसचिवमध्ये अझै ७ जनाको व्यवस्थापन हुन सकेको छैन । सहसचिवको दरबन्दी भएका ६ जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाइएका कारण पनि गृहको व्यवस्थापन समस्या भएको हो ।

दरबन्दी सहसचिवको कायम भएका विकट जिल्लामा त्यही तहका कर्मचारी जान नचाहने समस्या छ । गृहका एक अधिकारीले भने, ‘निजामती कर्मचारीलाई आवश्यकताअनुसार सरुवा गर्न नसक्नु राजनीतिक नेतृत्वको कमजोरी हो ।’ गृहले फाजिलमा रहेका ८ अधिकृतलाई सरुवा गरेको छ । 

संघीय मामिला मन्त्रालयमा फाजिलमा रहेका ३० उपसचिव र २१ अधिकृतको पदस्थापन गरिएको छ । मन्त्रालयका उपसचिव कमल भट्टराईका अनुसार सरुवा गरिएका मध्ये केहीलाई संघीय राजधानी र केहीलाई स्थानीय तहमा पठाइएको छ । २ सय ५० भन्दा बढी स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।

६ महानगरपालिका र ११ उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव हुन्छन् । तर वीरगन्ज महानगरपालिका तथा ११ वटै उपमहानगरपालिकामा सहसचिव छैनन् । अतिरिक्त समूहमा सहसचिव नभएकाले स्थानीय तहमा पठाउन नसके पनि मुद्दा खेपिरहेका र अशक्तबाहेकका फाजिलमा रहेका सबैको व्यवस्थापन गरिएको संघीय मामिला मन्त्रालयका प्रवक्ता तथा सहसचिव कालीप्रसाद पराजुलीले बताए ।

प्रधानमन्त्री कार्यालयको निर्देशन कार्यान्वयन भए/नभएको अनुगमनका लागि सतर्कता केन्द्रले बिहीबार दुई वटा टोली बनाएर गृह र संघीय मन्त्रालयमा पठाएको थियो । केन्द्रका सचिव सरजुकुमार वैद्यले निर्देशन कार्यान्वयनसम्बन्धी प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाइने बताए ।

ऋषिराम पौड्याल

Link copied successfully