आज दिनभर देश-दुनियाँमा के-के भयो ?

पुस २५, २०८१

कान्तिपुर संवाददाता

What happened in the country and the world today?

काठमाडौँ — रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको खबर आज चर्चामा रहेको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उनलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश थिएको हो ।

त्यस्तै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई समेत अदालतले ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ७ जनालाई अदालतले धरौटीमा छाडन् आदेश दिएको छ । अदालतले लीला पछाईसँग ३७ लाख, राम खनालसँग १५ लाख, मीना गुरुङ र आरती गुरुङसँग ५/५ लाख र कृष्ण गुरुङसँग १ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

त्यस्तै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ रेका छन् । उनलाई बिहीबार बिहान विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो । मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायण चिमोरियाका अनुसार पोखरेलमाथि एमबीबीएसमा भर्ना गराइदिने भन्दै सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

त्यसैगरी २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्न सकिने भएको छ । राष्ट्र बैंकले बिहीबार परिपत्रमार्फत उक्त निर्देशन दिएको हो ।

त्यस्तै सरकारले लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा अन्तर्राष्ट्रिय जगत्‌लाई औपचारिक रूपमा अझै नपठाएको समाचार पनि कान्तिपुरले बिहीबार प्रकाशित गरेको छ । नयाँ चुच्चे नक्सा जारी गरेको साढे चार वर्ष बितिसक्दा पनि सरकारले दुई छिमेकी चीन र भारतलगायत मुलुकका साथै संयुक्त राष्ट्रसंघलाई समेत कूटनीतिक च्यानलबाट जानकारी नगराएको हो ।

त्यस्तै अमेरिकामा डढेलोको प्रकोपबारे पनि कान्तिपुरमा बिहीबार समाचार प्रकाशित छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ ।

डढेलोका कारण ११ सय भन्दा बढी संरचना जलेर नष्ट भएका र १ लाख ३७ हजार जना विस्थापित भएका अधिकारीहरूले जनाएका छन् । लस एन्जलस सहरको नयाँ स्थानमा आगो फैलिरहेको छ । अमेरिकी सञ्चार माध्यहरूका अनुसार लस एन्जलस र यसको छिमेकी भेन्चुरा काउन्टीमा ६ स्थानमा डढेलो फैलिइरहेको छ । तीमध्ये पाँच स्थानका डढेलो पूर्ण रूपमा अनियन्त्रित बनेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully