भरतपुर विमानस्थल विस्तार, सिटी हल, ६ लेन सडक, नारायणी नदी तटबन्धनजस्ता ठूला परियोजना निर्माणको अन्तिम चरणमा रहेको मेयर दाहालको भनाइ
भरतपुर — देशकै मध्यभागमा अवस्थित भरतपुर महानगरपालिकामा पछिल्लो समय भौतिक पूर्वाधारको प्रगति लोभलाग्दो छ । तर अन्य क्षेत्रमा महानगरले कस्तो काम गरिरहेको छ त ? स्थानीयको भोगाइ कस्तो छ ? स्थानीय मुद्दामा राष्ट्रिय बहस थालेको कान्तिपुर टेलिभिजनले ‘महानगर महाबहस’ अन्तर्गत भरतपुरका यिनै विषयमा छलफल आयोजना गरेको छ ।
बिहीबार राति कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले आफू निर्वाचित भएदेखि भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगति गरेको दाबी गरिन् । पहिलो कार्यकालमा महानगरका ग्रामीण भेगका सबै बाटो कालोपत्र गरेको भन्दै उनले अब अन्य पूर्वाधारमार्फत महानगरवासीको जीवनस्तर उकास्न लागिपरेको बताइन् ।
‘भरतपुरको मुख्य बजारदेखि पुछारको गोलाघाट पुग्न घण्टौं लाग्थ्यो, बाटो कालोपत्र गरेदेखि अहिले मुख्य बजारबाट महानगरका जुनसुकै कुनामा जाँदा आधा घण्टादेखि ४५ मिनेट लाग्छ,’ दाहालले भनिन्, ‘सहज पहुँचको पहिलो आधार नै बाटो भएकाले यसमा धेरै मिहिनेत गरेका थियौं ।’
महानगर प्रमुख दाहालले अहिले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगारीका क्षेत्रमा काम गरिरहेको बताइन् । उनले अलपत्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिएको र खेलाडी उत्पादनमा पनि लगानी गरिरहेको बताइन् ।
एसईईको नतिजाअनुसार महानगरका सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्किएको देखिएको भन्दै उनले सुधार गर्ने लक्ष्यसहित अगाडि बढेको बताइन् । महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरले अनुगमनमा कडाइ गरेको बताए । करको दायरा बढाउनुका साथै कानुन निर्माण र कार्यान्वयनको पक्षलाई पनि सँगसँगै लगेको उनको भनाइ छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले दक्ष जनशक्तिको अभाव रहेको भन्दै त्यसका लागि महानगरले सहयोग गर्नुपर्ने धारणा राखे । पछिल्लो समय व्यवसायीहरू पलायन हुने समस्या बढेकाले रोकथामका लागि राज्यले नै स्पष्ट खाका तयार पार्नुपर्ने उनको भनाइ छ ।
चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले चितवन औद्योगिक प्रदर्शनी केन्द्र महानगरको गौरव रहेको भन्दै यसलाई चलायमान बनाउन प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । औद्योगिक शिक्षालय पनि सञ्चालनमा रहेको र यसबाट फाइदा उठाउन युवालाई महानगरबाट सहयोग आवश्यकता रहेको उनको भनाइ थियो ।
भरतपुर–२९ को राष्ट्रिय आधारभूत विद्यालय रातमाटेका शिक्षक बलराम जोशीले दिवा खाजाको अभावमा विद्यार्थीहरू स्कुलसम्म आइपुग्न समस्या भोगेको बताए । ‘घरमा खाना नपाक्दा विद्यार्थी भोकै पेट विद्यालय जान बाध्य छन्, कक्षा १० सम्म नै दिवा खाजा व्यवस्था गरिदिनुभयो भने धेरै विद्यार्थीको भोको पेट भरिन्थ्यो ।’ महानगर प्रमुख दाहालले बजेट अभावले दिवा खाजामा धेरै पैसा थप्न नसकिएको स्पष्ट पारिन् ।
‘संघीय सरकारबाट १० रुपैयाँ आउँछ, हामीले १० रुपैयाँ नै थप्दा करोडौंको बजेट चाहिन्छ । त्यो सम्भव नभएपछि ५ रुपैयाँ थप गरेका छौं,’ उनले भनिन् । आदिकवि भानुभक्त माध्यमिक विद्यालयकी छात्रा दीक्षा रानामगरले विद्यार्थीहरू टाढाटाढाबाट एउटै बसमा कोचिएर आउनुपरेको गुनासो गरिन् ।
सोही विद्यालयका प्रधानाध्यापक रामजी अधिकारीले ५ वर्षदेखि महानगरबाट विद्यालयले बजेट नपाएको बताए । ‘विद्यार्थी संख्याको हिसाबले हाम्रो विद्यालय महानगरको दोस्रो ठूलो हो, शैक्षिक अवस्था पनि राम्रो छ, तर ५ वर्षदेखि महानगरबाट भवन इत्यादि सेवाका लागि बजेट पाएका छैनौं ।’ उनले सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्न र भौतिक पूर्वाधारलाई प्राथमिकता दिन आग्रह गरे ।
लियो जिल्ला परिषद् ३२५ आर नेपालका उपाध्यक्ष विज्ञान पौडेलले महानगरले युवालाई स्वरोजगार बनाउनुपर्नेमा जोड दिए । उनले महानगर प्रमुखलाई अझै पनि सहज रूपमा भेट्न नपाउने गरेको गुनासो गर्दै सबै नागरिकलाई सहज पहुँचको वातावरण बनाइदिन आग्रह गरे । ‘चुनावमा गरिएको वाचाअनुसार अझै भरतपुरमा काम भएको छैन,’ पौडेलले भने ।
भरतपुरका अगुवा किसान सुमन सुवेदीले माटोमा अत्यधिक विषादीले समस्या देखिन थालेको भन्दै अहिलेदेखि नै सावधानी नअपनाए भविष्यमा उत्पादन नै नहुने जोखिमबारे महानगरलाई ध्यानाकर्षण गराए । युवा औषधि व्यवसायी विज्ञान पौडेलले महानगरले भौतिक क्षेत्रमा गरेको प्रगति तारिफयोग्य रहेको भन्दै अब जनजीविकामा प्रभाव पार्ने खालको काम गर्न आग्रह गरे । नागरिकले सहज रूपमा उपचार र औषधि पाउनुपर्ने तथा ग्रामीण भेगमा पनि भिडियो एक्सरेलगायतको सेवासुविधा व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले किसानले अझै पनि दूधको भुक्तानी नपाएको भन्दै भुक्तानीका लागि सहजीकरण गरिदिन महानगरसँग आग्रह गरे । उनले महानगरले किसानलाई दूध उत्पादनको आधारमा अनुदान दिएकोमा धन्यवाद दिए ।
सरसफाइ क्षेत्रमा काम गरिरहेका अगुवा भोजनारायण कँडेलले महानगरमा देखिएको फोहोरमैलाको समस्या दीर्घकालीन रूपमै समाधान गर्नुपर्नेमा जोड दिए । व्यवस्थित ल्यान्डफिल्ड साइट नभएको भन्दै सरसफाइको समस्याले महानगरलाई गिज्याइरहेको उनको टिप्पणी थियो । महानगर प्रमुख दाहालले भरतपुर विमानस्थल विस्तार, सिटी हल, ६ लेन सडक, नारायणी नदी तटबन्धन जस्ता ठूला परियोजना निर्माणको अन्तिम चरणमा रहेको बताइन् ।
