अर्थतन्त्रलाई लयमा ल्याउन कृषि र पर्यटन क्षेत्रको विकास गरौं : उपप्रधानमन्त्री सिंह

पुस २५, २०८१

कान्तिपुर संवाददाता

Let's develop agriculture and tourism sector to bring the economy into rhythm: Deputy Prime Minister Singh

काठमाडौँ — उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउन कृषि र पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा आयोजना गरेको ‘नवौं तनहुँ महोत्सव–२०८१’ को बिहीबार उद्‍घाटन गर्दै उनले कृषक र मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउनका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएका हुन् ।

तनहुँ राजनीतिक रूपमा मात्र नभई कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्दै मन्त्री सिंहले भने, ‘नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन हामीले ऊर्जा क्षेत्रलाई पनि व्यवस्थित गर्नुपर्दछ ।’

‘कोभिडले नेपालको अर्थतन्त्रमा असर पारे पनि अहिले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आएको र त्यसले रोजगारी सिर्जनासँगै अर्थतन्त्रमा समेत महत्वपूर्ण टेवा पुर्‍याएको छ,’ मन्त्री सिंहले भने, ‘वर्तमान सरकारको प्राथिमकता नागरिकको जीविका सहज बनाउनु रहेको भन्दै त्यसका लागि सरकारले कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रको विकासमा विशेष ध्यान दिइरहेको छ ।’

‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ कृषि, पर्यटन तथा प्रविधि महोत्सव आयोजना गरिएको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक बैकुण्ठनाथ मिश्रले बताए ।

किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नुपर्ने लगायत समस्याले गर्दा जमिन बााझिने क्रम तथा युवा पलायन हुने क्रम बढेकाले महोत्सवका माध्यमबाट कृषि क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य लिइएको उनले बताए । 

महोत्सवका माध्यमबाट कृषि, पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै स्थानीय स्तरमै रोजगारीको वातावरण सिर्जना गर्ने तथा जिल्लाको धार्मिक, साँस्कृतिक एवं ऐतिहासिकस्थलको प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने महोत्सवका निर्देशक पविन्द्रकुमार श्रेष्ठले बताए ।

कृषिउपज, हस्तकला, स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी, दुग्धजन्य उपज तथा उत्पादन प्रविधि, पशुपंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, अण्डालगायत मासुजन्य वस्तुको बिक्री, मत्स्यजन्य परिकारसमेत महोत्सवमा प्राथमिकताका साथ राखिने आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully