लामिछानेले थाले धरौटी बुझाउने प्रक्रिया

पुस २५, २०८१

कान्तिपुर संवाददाता

Lamichhane started the process of paying the bail

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतमा धरौटी बुझाउने प्रक्रिया सुरु गरेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेसँग जिल्ला अदालत कास्कीले ६५ लाख धरौटी मागेको थियो । 

कास्की जिल्ला प्रहरी स्रोतका अनुसार लामिछानेले धरौटी बुझाउने प्रक्रिया सुरु गरेका छन् । 'उहाँले जिल्ला अदालतले मागेको धरौटी बुझाउने प्रक्रिया सुरु गर्नुभएको छ । हामीलाई धरौटी बुझाउने भनेर जानकारी आएको छ,' प्रहरी स्रोतले भन्यो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेसँग कास्की जिल्ला अदालतले धरौटी मागेको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका थियो । 

न्यायाधीश राईको इजलासमा बिहीबार सरकारी वकिलहरूको जवाफी बहससँगै उक्त मुद्दामा थुनछेक बहस सकिएको थियो । बिहीबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए ।

न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस हुँदै आएको थियो । प्रतिवादीहरूका तर्फबाट कानुनी व्यवसायीहरूको बहसपछि बुधबार सहकारीपीडितहरूका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । उक्त सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भएको थियो ।

लामिछानेलाई कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर कास्की लगिएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully