भीम रावल एमालेबाट निकालिएपछि कार्यकर्ता अन्योलमा

रावलनिकट नेता भन्छन् : 'अछाममा ८० प्रतिशत रावलसँग, २० प्रतिशत ओलीको एमालेसँग हुने स्थिति छ ।’

पुस २४, २०८१

मेनुका ढुंगाना

Workers in confusion after Bhim Rawal was expelled from UML

अछाम — एमाले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीले संगठित सदस्यबाट हटाएपछि उनको गृह जिल्लाका नेता कार्यकर्ता दोधारमा परेका छन् । रावललाई पहिलो नेता मानेर विभिन्न स्थानीय तह, पार्टी संगठनको नेतृत्व गरिरहेकाहरू एमालेमै बस्ने कि रावलले सुरु गरेको मातृभूमि जागरण अभियानमा जोडिने भन्ने अन्योलमा छन् ।

नेकपा फुटपछि तत्कालीन एमालेका धेरै नेता एकीकृत समाजवादीमा जाँदा नै क्षति बेहोरिहेको अछाम एमाले यतिबेला झन् संकटमा परेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २०७४ मा अछामका दुइवटै निर्वाचन क्षेत्रमा विजयी भएको एमाले २०७९ को चुनावमा दुइटै क्षेत्रमा पराजित भयो ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि जिल्लाबाट रावलको नाम एकल सिफारिस भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकटलाई उम्मेदवार बनाएपछि जिल्लामा लामो समयसम्म एमाले एकजुट हुन सकेको थिएन । नेकपा फुटको अवस्थामा क्षतिमा परेको एमालेलाई भीम रावल नै पार्टीमा नरहेपछि झन् ठूलो झट्का लागेको छ ।

रावलसँग नजिक भएकाहरुले एमालेविरुद्ध नाराबाजी गरेको र पार्टीका विरुद्धमा बोलेको भन्दै जिल्ला पार्टीले यसअघि पनि ३ जनालाई स्पष्टीकरण सोधिसकेको छ । रावल निकटका एमालेबाट जनप्रतिनिधि भएकाहरु पनि अब के गर्ने भन्ने अन्योलमा रहेको बताउँछन् ।

‘पार्टीबाट उम्मेदवार भएर चुनाव जितेकाले रावल सरको अभियानसँग जोडिन त्यति सजिलो छैन । हाम्रो पनि केही दायरा छन् । एमाले अछाम र सिंगो सुदूरपश्चिमका लागि अहिले निकै कठिन अवस्था सिर्जना भएको छ,’ एमालेबाट निर्वाचित एक जनप्रतिनिधिले भने, ‘धेरै साथीहरु अन्योलमा हुनुहुन्छ । एमालेले गरेको निर्णयको पक्षमा पनि उभिन सक्नु भएको छैन । भीम रावलसँग जोडिन पनि सक्नु भएको छैन । यसले पार्टीलाई धेरै ठूलो क्षति भएको छ ।’

नेता रावलले नयाँ पार्टी नै खोल्ने भनेपनि टुंगो नलागेका कारण निर्णय लिन नसकेको अछामका रावल निकटका एक नेताले बताए । ‘एमालेले रावल सरलाई पार्टीबाट जसरी निकाल्यो त्यो गलत हो । अझैपनि सकिन्छ भने उहाँलाई एमालेमा नै फर्काउने निर्णय पार्टीले गर्नुपर्छ,’ ती नेताले भने, ‘अहिले भीम रावल नै भनेर हिँड्यो भने पार्टी छोडे सरह हो । हामी पनि राजनिति गर्ने मान्छे हो । आफ्नो बारेमा पनि सोच्नु पर्‍यो ।’

रावल समर्थक एमालेका धेरै कार्यकर्ता अहिले खुलेर बोल्न नसकेको उनले बताए । ‘पार्टीभित्र भीम रावल भएका कारण उहाँलाई नेता मानिएको हो । पार्टीमा नै उहाँ नरहेपछि एमाले नै छोड्ने विषय सजिलो भने होइन,’ उनले भने, ‘पार्टीमा हाम्रो पनि आफ्नै संघर्ष छ । योगदान छ । वर्तमान, भविष्य सबै हेरेर निर्णय लिनुपर्ने स्थिति छ ।’

एमालेबाट रावललाई निकालिएपछि अछाममा धेरै जना एमाले छोड्न तयार भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दुधकला विष्टले बताइन् । ‘रावल सरको जे अभियान छ, जस्तोसुकै परिस्थिति आएपनि हामी उहासँगै छौं,’ उनले भनिन्, ‘एक्लाएक्लै पार्टी छोडेर जानेभन्दा पनि आफूसँग भएका नेता कार्यकता एकैसाथ रावलको अभियानमा जोडिएर औपचारिक रुपमा एमाले छोडेका घोषणा गर्छौं । अहिलेको अवस्था हेर्दा अछाममा ८० प्रतिशत रावलसँग, २० प्रतिशत ओलीको एमालेसँग हुने स्थिति छ।’

रावल निकटका एक नेताका अनुसार अहिले अछाममा एमाले छोड्ने कति र को को रावलको साथमा जानसक्छन् भन्ने आन्तरिक रुपमा तथ्यांक संकलनको काम पनि भइरहेको छ । ‘अछाममा रावल कति बलियो हुन् भन्ने कुरा अबको केही दिनमा आउने तथ्यांकले बताउने छ । हामी चुप बसेका छैनौं । आन्तिरिक छलफल, तथ्यांक संकलन गरिरहेका छौं । यसको नतिजा केही दिनमा सार्वजनिक हुन्छ,’ ती नेताले भने ।

अछाममा ओली निकटका नेता कार्यकर्ता पनि रावललाई पार्टीबाट निकालेको निर्णयमा सन्तुष्ट छैनन् । ‘रावललाई पार्टीबाट निकालेको क्षति एमालेले आगामी आम निर्वाचनमा पक्कै भोग्नु पर्ने छ । क्षेत्र नम्बर २ मा आशिंक प्रभाव पर्छ । धेरै प्रभाव रावलकै निर्वाचन क्षेत्रमा पर्ने देखिन्छ । सिंगो प्रभाव त सुदूरपश्चिम प्रदेशमा नै पर्छ,’ ओली निकटका एक नेताले भने, ‘पार्टीले गलत निर्णय गर्‍यो भनेर बोल्दा उल्टै हामीलाई पनि स्पस्टिकरण सोध्ने डर छ । डरैडरले बोल्नु परेको छ ।’

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully