भूकम्पले ओखलढुंगा, सोलुखुम्बु र संखुवासभाका केही घरमा पनि क्षति
सिगात्से — चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार गएको शक्तिशाली भूकम्पबाट कम्तीमा १ सय २६ जनाको मृत्यु भएको छ । चिनियाँ अधिकारीका अनुसार भूकम्पबाट १ सय ८८ जना घाइते भएका छन् । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९ः०५ बजे भूकम्प गएको हो ।
भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय ‘चाइना अर्थक्वेक नेटवर्क्स सेन्टर’ का अनुसार ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ ।
नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्पको उद्गम बिन्दु जमिनको सतहदेखि १० किलोमिटर तल रहेको थियो । भूकम्प गएको क्षेत्र नेपाल–चीन सीमामा अवस्थित सगरमाथा क्षेत्र नजिकै पर्छ ।
नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार नेपालमा भूकम्पको क्षमता ५.३ म्याग्निच्युड मापन गरिएको थियो । अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले भने उक्त भूकम्प ७.१ म्याग्निच्युडको भएको जनाएको छ ।
नेपालबाट भूकम्पको केन्द्रबिन्दु ९३ किलोमिटर टाढा पर्छ । भूकम्पको धक्का नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि महसुस भएको थियो । भूकम्पको धक्का नेपालमा स्थानीय समयानुसार बिहान ६ बजेर ५० मिनेटमा महसुस गरिएको थियो । भूकम्पले पूर्वी नेपालका केही जिल्लाहरूमा समेत सामान्य क्षति पुर्याएको छ ।
नेपाल प्रहरीका अनुसार भूकम्पले ओखलढुंगा, सोलुखुम्बु र संखुवासभामा केही घरमा क्षति पुगेको छ । भूकम्पको धक्का भारत र भुटानमा समेत महसुस गरिएको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पश्चिम बंगाल, असम, बिहार र दिल्लीसहित उत्तरी क्षेत्रमा पनि महसुस भएको जनाएका छन् ।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार भूकम्पको केन्द्रबिन्दु ५ किलोमिटर आसपासमा ७ वटा गाउँ छन् । त्यस्तै, केन्द्रबिन्दुको २० किलोमिटर आसपासमा दुई सहर छन् । भूकम्पका कारण सयौं घरहरू भत्किएका भिडियो र तस्बिरहरू सार्वजनिक भएका छन् ।
भूकम्पका कारण तिब्बतको सिगात्से सहरमा मात्रै हजारभन्दा बढी भवन भत्किएको जनाइएको छ । करिब ८ लाख जनसंख्या रहेको सिगात्से तिब्बती बौद्धधर्म गुरु पन्चेन लामा बस्ने धार्मिक केन्द्र हो । उनी तिब्बती बौद्धधर्मका एक महत्त्वपूर्ण व्यक्तित्व हुन् । बीबीसीका अनुसार भूकम्प प्रभावित क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ ।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य जारी छ । चिनियाँ सेनाले उद्धारकार्यमा सैनिकहरू संलग्न भएको र सगरमाथा नजिकैको दुर्गम क्षेत्रमा मानवरहित ड्रोनलाई परिचालित गरेको जनाएको छ । विभिन्न सञ्चारमाध्यमहरूमा सार्वजनिक भिडियोमा उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी कार्य गरिरहेका र प्रभावित मानिसहरूलाई कठ्यांग्रिने जाडोबाट जोगाउन कम्बल वितरण गरिरहेको देखिन्छ । चीनको जलवायु प्रशासनका अनुसार डिंग्र्री काउन्टीको हालको तापक्रम माइनस ८ डिग्री सेल्सियस छ । रातको समयमा तापक्रम माइनस १८ सम्म झर्ने जनाइएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार बिहान गएको भूकम्पका कारण हुने क्षति कम गर्न ‘पूर्ण स्तरको खोजी र उद्धार प्रयास’ मा लाग्न तथा प्रभावित मानिसहरूको पुनर्वासको प्रबन्ध गर्न निर्देशन दिएका छन् । निर्वासित तिब्बती आध्यात्मिक नेता दलाई लामाले भूकम्पको खबरले आफूलाई अत्यन्तै दुःखी बनाएको बताएका छन् । ‘म ज्यान गुमाउनेहरूका लागि प्रार्थना गर्दछु र घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ दलाई लामाले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।
त्यस्तै मंगलबारको भूकम्पले पुर्याएको क्षतिप्रति राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत भूकम्पका कारण मानवीय र भौतिक क्षति भएकोमा दुःख व्यक्त गरेका हुन् ।
‘ठूलो भूकम्पको जोखिम कायमै छ’
मंगलबार बिहानको भूकम्प कसरी आयो ?
हिमालय भनेपछि अफगानिस्तानदेखि म्यानमारसम्म २५ सय किलोमिटरको क्षेत्रफल सम्झिनुपर्छ । यसमा बीचको ८ सय किलोमिटर हिमालय नेपालमा पर्छ । हिमालको उत्तरतर्फ चीनको तिब्बत पर्छ । यो युरेसियन प्लेटको एक भाग हो । इन्डियन प्लेट नेपालको जमिनमुनि पर्छ । इन्डियन प्लेट युरेसियन प्लेटको मुनिबाट घर्षण हुँदा भूकम्प जाने गर्छ । वार्षिक ४ सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनिबाट इन्डियन प्लेट घुस्रिँदै छ । तलबाट घुस्रिने तर नेपालको हिमालयले त्यसलाई राम्ररी छिर्न नदिने हुनाले घर्षण पैदा हुन्छ, त्यो घर्षण नै भूकम्पको मुख्य कारण हो ।
यस किसिमको भूकम्प आइरहँदा नेपाललाई जोखिम कति छ ?
तिब्बतमा ठूलो भूकम्प आयो भने नेपाल जोखिममा पर्ने भइहाल्यो । नेपालमा जम्मा भएको भूकम्पको शक्ति जस्ताको त्यस्तै छ । अहिलेको भूकम्पले रिलिज गरेको छैन । तिब्बतमा गएको भूकम्पको धक्का मात्र नेपालमा महसुस गरेका हौं । तिब्बतमा गएको भूकम्पले नेपालमा भूकम्पको जोखिम कम गर्दैन ।
नेपालमा भूकम्प आउने सम्भावना कायमै छ । जस्तै– गोरखा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पश्चिममा जाने भूकम्पको जोखिम कम गरेन । एउटा केन्द्रबिन्दु भएर गएको भूकम्पले अर्को केन्द्रबिन्दु भएर आउने भूकम्पको जोखिम कम हुँदैन । नेपालभित्र पनि विभिन्न तहमा जाने भूकम्प एकैनासको हुँदैन । पश्चिमतर्फ साना भूकम्प गइरहँदा पूर्वतिर कम छ ।
स–साना धक्काले ठूलो जोखिम कम गर्छन् ?
जम्मा भएको शक्ति लाने भनेको ठूलो भूकम्पले नै हो भन्ने नेपालमा प्रमाणित भइसकेको छ । साना भूकम्पले शक्तिलाई कम नगर्ने होइन, हुन्छ । तर सानो भूकम्पका कारण कति शक्ति जान्छ भन्नेमा ठूलो जोखिम कम भयो कि भएन भन्ने निर्भर हुन्छ । हाम्रामा गइरहेको भूकम्पले ठूलो भूकम्पको शक्ति नगण्य रूपमा मात्र लान्छ । त्यसैले ठूलो भूकम्पको जोखिम यथावत् नै रहन्छ ।
भूकम्पमा कसरी सुरक्षित रहने ?
कसरी सुरक्षित रहनेभन्दा पनि भूकम्पले के गर्छ भन्नेतर्फ जानुपर्छ । नेपालमा २०७२ को भूकम्पका कारण ९ हजार मानिसको ज्यान गयो । त्यही हाराहारीको भूकम्प बाहिर जाँदा थोरै मानिसको ज्यान गयो । ठूलो भूकम्प जाँदैमा क्षति हुन्छ भन्ने हुँदैन । कम क्षति गराउन सकिन्छ भन्ने त विभिन्न समयमा गएको भूकम्पबाट थाहा भयो ।
मानिसलाई क्षति गर्ने भनेको हामीले बनाएका संरचनाले नै हो । धेरैजसोको घरमै ज्यान गएको देखिन्छ । त्यसकारण कम क्षति गर्ने संरचना बनाउनतिर लाग्नुपर्छ । संरचना बलियो हुनुपर्छ । भूकम्पको पूर्वानुमान गर्न सकिँदैन । कसरी जोगिने भन्नेबारेमा विद्यालयस्तरमा सिकाइनु जरुरी छ । सचेतनाका सूचना प्रचार गर्नुपर्छ ।
