काठमाडौँ — पाँच विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) कार्यकक्षअगाडि दिएको धर्ना एक सातापछि टुंगिएको छ भने ३ निकायमा गरिएको तालाबन्दी जारी छ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीसहितका विद्यार्थी संगठनले १० बुँदे माग राख्दै रेक्टर खड्ग केसीको कार्यकक्ष छिर्ने ढोकामा धर्ना दिएका थिए ।
विद्यार्थी कल्याण निर्देशानलयसँग सहमतिपछि धर्ना स्थगित गरिएको अखिल क्रान्तिकारी त्रिवि इकाइका अध्यक्ष दिनेश ऐरले जनाए । एकीकृत समाजवादी निकट अनेरास्ववियू, अखिल छैठौं, अखिल समाजवादी र नेपाल समाजवादी विद्यार्थी युनियनले धर्ना दिएका हुन् । धर्नाको कारण रेक्टर केसीलाई कार्यालय आउजाउ गर्नसमेत बाधा पुगेको थियो । विश्वविद्यालय माग पूरा गर्न तयार भएपछि धर्ना स्थगित गरिएको ऐनले बताए ।
भागबन्डाबिनै क्याम्पस र विभागीय प्रमुख नियुक्त गर्नुपर्ने, त्रिविको जग्गा खोजबिनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न, विभागमा बिहानी र दिवा कक्षा सञ्चालन गर्नुपर्ने, विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था गर्नुपर्ने, सेवा आयोगको विज्ञापन तत्काल खोल्नुपर्ने लगायतको माग विद्यार्थी संगठनले अघि सारेका थिए ।
मेरिटका आधारमा उत्कृष्टलाई नियुक्ति गर्न बाधा पुग्ने कार्यविधि संशोधन गर्ने, जग्गासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई पत्राचार गर्न, उत्तरपुस्तिका हराउने दोषी ठहरिएकालाई कारबाही गर्न त्रिविले प्रतिबद्दता जनाएको छ । त्यसअघि सत्तारुढ दल एमाले निकट अनेरास्ववियुका त्रिवि अध्यक्ष सिद्धान्त भट्टले उपकुलपति कार्यकक्षको मूल ढोकामा धर्ना दिएका थिए । भट्टसँग त्रिविले पुस १४ गते ३६ बुँदे सहमति गरेको थियो । उनले ३५ बुँदे माग अघि सारी आन्दोलन गरेका थिए । उपकुलपति केशरजंग बराल लगायत पदाधिकारी र अनेरास्ववियुका अध्यक्ष समिक बडालको रोहबरमा सहमति गरिएको थियो ।
अखिल क्रान्तिकारी लगायत विद्यार्थी संगठनले त्रिविका ३ निकायमा तीन सातादेखि गरेको तालाबन्दी भने जारी छ । केन्द्रीय क्याम्पस, रजिष्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखा र स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयमा उनीहरूले तालाबन्दी गरेका हुन् । एनपीएल प्रतियोगितामा पार्किङ शुल्क उठाएको विषयमा छानबिनको माग राख्दै उनीहरूले यी निकायमा तालाबन्दी गरेका हुन् । सोही समूहले भौतिक विज्ञान विभागमा गरेको ताला भने गत साता खुलेको छ ।
विभागसँगको सहमतिपछि ताला खोलिएको हो । एनपीएल प्रतियोगितामा अवैध रूपमा उठाएको शुल्कबारे छानबिन गर्न सरोकारवाला पक्षहरु सहमत नभएका कारण बाध्य भएर तालाबन्दी कायम राख्नु परेको ऐरले बताए । ‘वार्ता र छलफल गर्ने कुरा भएको छ तर हुन सकेको छैन,’ उनले भने ।
स्ववियु अध्यक्ष श्यामराज ओझा निकट विद्यार्थीले प्रतियोगिताको पहिलो दिन शुल्क उठाएको आरोप छ । क्याम्पस प्रमुख ध्यानेन्द्र राईले वार्तामा बस्ने कुराकानी भए पनि छलफल हुन नसकेको बताए ।
