काठमाडौँ — मधेशकेन्द्रित दलहरू मोर्चाबन्दीको प्रयासमा जुटेका छन् । पटकपटक विभाजनको मार खेपेका मधेशकेन्द्रित दल मुद्दाअनुसारको सहकार्य, कार्यगत एकता वा मोर्चा बनाएर एक ठाउँमा उभिने उपायको खोजीमा लागेका हुन् । त्यही प्रयासस्वरूप पछिल्लो एक सातायता सहकार्यका लागि छलफल गर्न भन्दै सबैजसो मधेशकेन्द्रित दलले कार्यदलसमेत बनाएका छन् ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पछिल्ला केही दिनयता सबै दलका नेतृत्वलाई भेटेर मुद्दा विशेषमा कम्तीमा सहकार्य गरेर जानुपर्ने आवश्यकताबारे छलफल गरेका छन् । ‘मुद्दागत रूपमा भएपनि एक ठाउँमा उभिऔं, एउटा आवाज बोलौं भन्ने उद्देश्यले विचार र मुद्दा मिल्ने दलहरूबीच कार्यगत सहकार्यको प्रयास भइरहेको छ,’ उनले भने ।
‘मधेश आन्दोलन धेरै उचाइमा पुगेर धराशायी हुन पुग्यो, त्यसले मधेशी जनतामा निराशा आयो । त्यसको अनुभूति सबै नेतामा छ,’ उनले भने, ‘कम्तीमा खास–खास विषयमा एक ठाउँमा बस्नुपर्यो, त्यसका लागि ‘लुज एलायन्स’ बनाएर जाऔं भन्ने कोणबाट छलफल चल्दै छ ।’ उनले कार्यगत सहकार्यका लागि भइरहेको प्रयासमा नेता तथा दलहरूका तर्फबाट सकारात्मक प्रतिक्रिया आएको बताए ।
संविधान संशोधनको कुरा आइरहेका बेला कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि समेत कम्तीमा ‘लुज एलायन्स’ भयो भने पनि सजिलो हुने उनले उल्लेख गरे । पहिलो चरणमा मधेशकेन्द्रित दल तथा त्यसपछि आदिवासी जनजाति, उत्पीडित दलितकेन्द्रित शक्तिसँग पनि सहकार्यको पहल हुने उनले बताए । मधेसकेन्द्रित दलबीच संवाद र सहकार्यको पहल गर्न सीके राउत नेतृत्वको जनमत पार्टीले सोमबार उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा कार्यदल बनाएको छ ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद सोनारको नेतृत्वमा कार्यदल बनाएको छ । मधेसकेन्द्रित दलबीच संवाद, सहकार्य, कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेसँग पार्टी एकीकरण गर्नेसम्मको सम्भावना खोजीको जिम्मेवारी कार्यदललाई तोकिएको छ ।
कार्यदलको नेतृत्व गरेका लोसपाका वरिष्ठ उपाध्यक्ष सोनारले संघीयता र परिवर्तनवादी शक्तिबीच सहकार्यका लागि प्रयास हुने बताए । ‘संविधान संशोधन, थ्रेसहोल्ड बढाउने, दुईदलीय प्रणालीमा जाने कुरा सुनिँदै छ,’ उनले भने, ‘प्राप्त उपलब्धिमाथि नै खतरा देखिँदै छ । त्यसले विचार र मुद्दा मिल्ने दलबीच सहकार्यको आवश्यकता बोध भएको छ । अब कसरी जान सकिन्छ, त्यही विषयमा सबै दलबीच छलफल गर्नेछौं ।’
उपेन्द्र यादव नेतृत्वको जसपाले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा सहकार्यको पहल गर्न कार्यदल बनाइसकेको छ । अशोक राई नेतृत्वको जसपाले संघीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठलाई तथा जनता प्रगतिशील पार्टीले वरिष्ठ उपाध्यक्ष शिवजी यादवको नेतृत्वमा कार्यदल बनाएर छलफल अघि बढाएका छन् ।
