वीरगन्ज — साढे तीन बिघा खेतमा लगाएको धान भित्र्याउने तयारीमा रहेका वीरगन्ज–२२ जगरनाथपुरका किसान हरेन्द्र यादव अहिले तनावमा छन् । काटेर दाइँ गर्न ठिक्क पारेको उनको धानको थुप्रोमा पुस ६ मा अज्ञात समूहले आगजनी गरेको हो ।
‘दाइँ गर्न मात्र बाँकी थियो,’ उनले भने, ‘करिब दुई सय १० क्विन्टल धानमा आगो लगाएर नष्ट पारे । धान उब्जाउन गरिएको मिहिनेत र लगानी खेर गयो ।’ आगजनीबाट करिब साढे ७ लाख रुपैयाँ बराबरको धान नष्ट भएको यादवले बताए । घटना भएको तीन साता पुग्दा पनि पर्सा प्रहरीले हालसम्म दोषीलाई पक्राउ गर्न सकेको छैन ।
राजनीतिक प्रतिशोध साध्न धानमा आगजनी गरिएको यादवको आरोप छ । पुस ६ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा उनको गाउँमा अभिमुखीकरण कार्यक्रम राखिएको थियो । कार्यक्रमका लागि हरेन्द्रले आफ्नो जग्गा उपलब्ध गराएका थिए । उनका अनुसार जसपा नेपालबाट अलग भएको जसपाका कार्यकर्ताले जग्गा उपलब्ध नगराउन धम्की दिएका थिए । ‘पार्टीको कार्यक्रमका लागि जमिन उपलब्ध गराएकाले नै मेरो धानबालीमा राति आगजनी गरिएको हो,’ उनले भने ।
घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै जसपा नेपालले वीरगन्जमा दुई पटक विरोध जुलुससमेत प्रदर्शन गरेको छ । जसपाका नगर अध्यक्ष ईश्वरचन्द यादव भने बिनातथ्य र प्रमाण कसैमाथि दोष लगाउनु निन्दनीय बताउँछन् । ‘हरेन्द्रलाई गुमराहमा पारी आरोप लगाउने काम भएको छ,’ उनले भने, ‘प्रहरी प्रशासनले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ ।’
पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले आगजनीको अनुसन्धानका लागि विशेष टोली परिचालन गरेको बताए । ‘हालसम्म २० जनाभन्दा बढी व्यक्तिलाई ल्याएर सोधपुछ गरिसकेका छौं,’ लम्सालले भने, ‘आगजनी गर्ने व्यक्ति फेला परिसकेको छैन, अनुसन्धान भइरहेको छ ।’
