कर्मचारी व्यवस्थापन मिलाउन प्रधानमन्त्री कार्यालयले गुहार्‍यो सतर्कता केन्द्र

गृह र संघीय मामिला मन्त्रालयलाई तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन निर्देशन, त्यसको अनुगमन गरी प्रतिवेदन बुझाउन सतर्कता केन्द्रलाई जिम्मेवारी

पुस २२, २०८१

ऋषिराम पौड्याल

The Prime Minister's Office requested Vigilance Center to coordinate staff management

काठमाडौँ — कर्मचारी व्यवस्थापनको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय सतर्कता केन्द्र गुहारेको छ । गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई कामविहीन बनाएर राज्यको सुशासन र सेवा प्रवाहमा हेलचेक्र्याइँ गरेको भन्दै प्रधानमन्त्री कार्यालयले यसको व्यवस्थापन अनुगमन गर्न केन्द्रलाई जिम्मेवारी दिएको हो ।

प्रधानमन्त्री कार्यालयले गृह र संघीय मामिला मन्त्रालयलाई तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन आइतबार लिखित निर्देशन दिएको छ । तोकिएको समयमा व्यवस्थापन मिलाए/नमिलाएको अनुगमन गरेर चौथो दिन प्रतिवेदन पेस गर्न केन्द्रलाई लिखित रूपमै कार्यार्थ दिइएको हो ।

प्रधानमन्त्री कार्यालयले सतर्कता केन्द्रको प्रतिवेदनका आधारमा मन्त्रालयका सचिवहरूलाई व्यवस्थापन नमिलाउनुको कारण सोध्ने तयारीसमेत गरेको छ । 

‘स्वीकृत भएबमोजिमको पद र श्रेणीको कर्मचारीको पदस्थापन नगरी त्योभन्दा तल्लो श्रेणी र पदका कर्मचारीलाई जिम्मेवारी दिएर काम गराउने प्रवृत्ति बढ्दै गएको छ,’ प्रधानमन्त्री कार्यालयका शासकीय सुधार महाशाखाका सहसचिव किरण रूपाखेतीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

कर्मचारीलाई काम नदिनु राज्यको स्रोतको अपव्यय हुनु हो भन्दै यसले कर्मचारीको वृत्ति विकासमा समेत असर पर्ने प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ । 

धेरै कर्मचारी गृह र संघीय मामिला मन्त्रालयमा कामै नगरी बस्ने गरेको घटना बारम्बार दोहोरिएपछि प्रधानमन्त्री कार्यालयले कर्मचारी व्यवस्थापन नमिलाउँदा सेवा प्रवाहमा समेत असर परेको जनाएको छ । ‘एकातिर स्थानीय तहलगायत राज्यका विभिन्न निकायमा कर्मचारीको अभाव छ । अर्कातिर हाजिर गरेको भरमा सिंहदरबार वरिपरि घुमेर तलब खानेहरूले काम पाएका छैनन्,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । 

संघीय मामिला मन्त्रालयका प्रवक्ता तथा सहसचिव कालीप्रसाद पराजुलीका अनुसार २ सय ५० भन्दा बढी पालिकामा प्रमुख प्रशासकीय अधिकृत निमित्त छन् । ११ उपमहानगरमध्ये १० वटामा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त छ ।

The Prime Minister's Office requested Vigilance Center to coordinate staff management

महानगर र उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी सहसचिवको रहने व्यवस्था छ । ६ वटा महानगरमध्ये वीरगन्जमा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त छ । ३० देखि ३५ जना उपसचिवको व्यवस्थापन मिलाउन बाँकी रहेको पराजुलीले जानकारी दिए । 

गृह मन्त्रालयका प्रशासन प्रमुख तथा सहसचिव छवि रिजालले आफ्नो मन्त्रालयमा १९ उपसचिव, ४ सहसचिवको व्यवस्थापन हुन बाँकी रहेको बताए । उनले दरबन्दीभन्दा बढी भएका उपसचिवलाई अन्यत्र सरुवा गरिदिन संघीय मन्त्रालयलाई मंसिरमा पत्राचार गरेको जानकारी दिए ।  ‘दुवै मन्त्रालयले समन्वय गरिरहेको छ । केही समयमै व्यवस्थापन हुन्छ,’ उनले भने । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत संघको दरबन्दी हुने कानुनी व्यवस्था छ । 

 प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जावलाखेलस्थित स्टाफ कलेजमा सचिवहरूलाई भेला गराएर कर्मचारीको कामप्रति असन्तुष्टि जनाएका थिए । विशेषगरी कर्मचारीको सरुवा, बढुवा, काजलगायत विषयमा लापरबाही भएको पटक–पटक कुरा उठ्दै आएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा गत भदौदेखि नै पटक–पटक बसेको बैठकले कर्मचारीको यथास्थितिको विवरण संकलन र सरुवा, काजलगायत विषयको व्यवस्थापन मिलाउन १५ दिनको समय दिएकामा अहिलेसम्म पनि यो समस्या कायम छ ।

गत असोज ७ मा सिंहदरबारमा मुख्यसचिवकै अध्यक्षतामा बसेको बैठकले कर्मचारीको विवरण संकलन गर्ने निर्णय गरेको थियो । तर कुन कर्मचारी कुन अवस्थामा कहाँ काम गरिरहेका छन् ? खटाएको स्थानमा गएका छन् कि छैनन् ? काजमा कुन कार्यालयमा कति जना बसेका छन् ? फाजिलमा कति छन् ? त्यसको यथार्थ विवरण प्रधानमन्त्री कार्यालयले अझै पाएको छैन । 

गृह मन्त्रालयले सहसचिवको दरबन्दी भएको जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएका घटना दोहोरिँदै आएको छ । संघीय मन्त्रालयलगायत विभिन्न मन्त्रालयमा उपसचिवहरू कामविहीन छन् । तर राजनीतिक र कर्मचारी संघ/संगठनको दबाबका कारण रिक्त स्थानमा पठाइएको छैन ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully