काठमाडौं विमानस्थलमा सन् २०२४ मा अहिलेसम्मकै सबैभन्दा धेरै यात्रुको आवागमन 

पुस २२, २०८१

सुरज कुँवर

Kathmandu Airport has the highest number of passengers in 2024

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२४ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुईतर्फी ९४ लाख २३ हजार ७ सय २५ यात्रुको आवागमन भएको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो । 

‘काठमाडौं विमानस्थलको वार्षिक क्षमता ८० लाख यात्रुलाई सेवा दिने हो,’ नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले कान्तिपुरसँग भने,‘तर २०२४ मा आन्तरिक र अन्तर्राष्टिय उडानमा ९४ लाख २३ हजार ७ सय २५ जना यात्रुले सेवा लिए । यो हालसम्मकै सबैभन्दा धेरै हो ।’ 

सन् २०२३ मा काठमाडौं विमानस्थलबाट ८६ लाख ५४ हजार यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरेका थिए । सन् ०२४ मा वृद्धि भएको यात्रु आवागमन झन्डै ९ प्रतिशतले बढी हो । सन् २०२४ मा आन्तरिकतर्फ ४४ लाख ६० हजार ३ सय ६१ जना यात्रुले ओहोरदोहोर गरेका थिए भने अन्तर्राष्ट्रियतर्फ ४९ लाख ६३ हजार ३ सय ६४ जना यात्रुले ओहोरदोहोर गरेका थिए । 

काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलको प्रतिघण्टा यात्रु सेवा गर्ने क्षमता ७ सय हाराहारी हो भने अन्तर्राष्ट्रिय टर्मिनलको प्रतिघण्टा १५ सय यात्रु सेवा दिन सक्ने क्षमता हो । उडानतर्फ काठमाडौं विमानस्थलले प्रतिघण्टा सफा मौसममा ३३ वटा उडान गराउन सक्छ । यसको वार्षिक क्षमता ८० लाख यात्रुलाई सेवा दिने हो । सन् २०२४ मा भने विमानस्थलको क्षमताभन्दा १८ प्रतिशत बढी यात्रुको आवागमन बढेको हो । 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully