नक्कली इन्स्पेक्टर बनेर ठगी

पुस २२, २०८१

विवेक पोख्रेल

Fraud by pretending to be a fake inspector

काठमाडौँ — उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली प्रहरी इन्स्पेक्टर बनेर ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं कागेश्वरी मनहरा नगरपालिकाका ३८ वर्षीय सुदीप थापा र सप्तरी घर भएर काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ४४ वर्षीय किशोरकुमार चौधरी पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार थापाले प्रहरी निरीक्षकको पोसाक लगाई नक्कली परिचयपत्र, विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको पत्र, विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँगको फोटो देखाई सम्पर्क रहेको र वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ठगी गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

मार्सल प्रिन्टिङ प्रेसका संचालक समेत रहेका चौधरीले किर्ते गरी परिचयपत्र बनाएको प्रहरीले बताएको छ । उनीहरूको साथबाट प्रहरी निरीक्षकको परिचय पत्र, पोसाकसहितका तस्बिर र मोबाइल बरामद गरिएको छ ।

उनीहरूलाई ठगी तथा लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको छ ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully