घरबारीमै धाउने ‘कृषि एम्बुलेन्स’

‘बस र बोलेरोलाई भाडा तिरेर सामान बजारसम्म पुर्‍याउनुपर्ने बाध्यता हट्यो, बजारमा बेच्दा पाउने भाउ घरआागनमै पाउन थालेका छौं’

पुस २२, २०८१

अनिश तिवारी

”Agricultural Ambulance” that runs in the backyard

सिन्धुपाल्चोक — किसानको घरबारीसम्म पुगेर नगदमै कषिजन्य उत्पादन किनी बजारसम्म पुर्‍याउन त्रिपुरासुन्दरी गाउँपालिकामा ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याइएको छ ।

बलेफी गाउँपालिका–७ खाडीचौर बजारमा कृषि उपज बिक्री कक्ष चलाइरहेको त्रिपुरासुन्दरी कृषक समूह संघले किसानको उत्पादन खेर जान नदिन र सहज रूपमा बजारसम्म पुर्‍याउन एम्बुलेन्स सेवा सुरु गरेको हो ।

पालिकाभरबाट उत्पादित तरकारी, माछा, मह, मासु, दही, छुर्पीलगायतका उत्पादन एम्बुलेन्सबाट संकलन गरी बिक्री कक्षसम्म पुर्‍याउने गरिएको छ ।

‘फोन गरेपछि एम्बुलेन्स घरबारीमै पुग्छ, आफ्ना उत्पादनको उचित मूल्य पाएपछि किसान पनि खुसी भएका छन्,’ समूहका अध्यक्ष तथा बिक्री कक्षका सञ्चालक सम्राटजंग बोहोरा भन्छन्, ‘अर्गार्निक खेती हुने भएकाले यहाँ उत्पादन भएका वस्तुको बिक्रीमा समस्या छैन । ग्राहक बढेका छन्, किसान पनि उत्साही छन् ।’ 

एम्बुलेन्सले बिहानैदेखि साँझ ५ बजेसम्म घरघरमा पुगेर उत्पादनको खरिद र ढुवानी गर्दै आएको छ । ‘अब पहिलेजस्तो कृषि उपज नबिकेर घरमै कुहाउनुपर्नेर् बाध्यता छैन, गाउँनजिकै बिक्री कक्ष र ढुवानी साधनको सुविधा भएकाले हामीलाई उत्साह मिलेको छ,’ त्रिपुरासुन्दरी–४ की सानोमाया थामी भन्छिन् ।

दोलखा, रामेछाप र उत्तरी नाका तातोपानी पुग्नुअघिको गन्तव्य बाह्रबिसे लामोसाँघु बजारमा रहेको बिक्री कक्षबाट अन्य स्थानीय तहका किसान पनि लाभन्वित भएका छन् । दैनिक ३० देखि ५० भन्दा बढी किसानको उत्पादन यो बिक्री कक्षमा आइपुग्छ । एम्बुलेन्स एउटा मात्र भएकाले नभ्याएको अवस्थामा नजिकका कृषक आफैं पनि सामान लिएर आइपुग्छन् । 

गाउँपालिकाले उपलब्ध गराएको पाँच लाख रुपैयाँ अनुदानबाट बिक्री कक्ष चलाउन थालिएको थियो । तर कृषिजन्य उत्पादन ढुवानी गर्न समस्या देखिएपछि एम्बुलेन्स सञ्चालनमा ल्याइएको समूहले जनाएको छ । बोहोराका अनुसार उत्पादन खरिद र बिक्री केन्द्र सञ्चालनको व्यवस्थापन गर्न पालिकाका ६ वटै वडाका एक/एक अगुवा कृषक सम्मिलित समिति गठन गरिएको छ ।

समूहले पालिकासँग समन्वय गरी कृषि विकास बैंकबाट ३२ लाख रुपैयाँ ऋण लिएर एम्बुलेन्स खरिद गरेको हो । ‘एम्बुलेन्सले घरमै आएर किन्न थालेपछि धेरै सहज भएको छ,’ त्रिपुरासुन्दरी–१ का दलबहादुर गुरुङ भन्छन्, ‘बस र बोलेरोलाई भाडा तिरेर सामान बजारसम्म पुर्‍याउनुपर्ने बाध्यता हट्यो, बजारमा बेच्दा पाउने भाउ घरआँगनमै पाउन थालेका छौं ।’ उनले गाउँमा मौरीपालन पनि गरेका छन् । गुरुङसहित घोर्थली गाउँभरका किसानको एक लाख बराबरको मह नगदै किनेर बिक्री कक्षमा ल्याएको बोहोराले बताए ।

गाउँपालिकाले बाँझो जमिनमा फलफूल रोपेर सदुपयोग गर्ने नीतिसहित दुई वटा पकेट क्षेत्र पनि तोकेको छ । गत आर्थिक वर्षमा बाँझो जमिनमा फलफूल खेती कार्यक्रमअन्तर्गत २ नम्बर वडामा सुन्तला र ३ नम्बर वडामा टिमुरको पकेट क्षेत्र तोकेर झन्डै तीन हजार बिरुवा रोपिएका छन् ।

विदेश पलायन जनशक्तिलाई केन्द्रित गरेर ‘कृषि बचाउ, युवा फर्काउ’ अभियान सञ्चालनमा ल्याएको पालिकाले बाँझो जमिनमा खेती र बजारीकरणको नीति तथा कार्यविधि तयार गरी कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोरा भन्छन्, ‘पालिकाबाट पाँच लाख बजेटमा थालिएको बिक्री कक्ष प्रभावकारी देखियो । तत्काल थप बजेट भएन, कृषकले ऋण लिएर एम्बुलेन्स चलाएका छन्, यसले सबै कृषकमा उत्साह बढेको महसुस गरेका छौं,’ उनले भने ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully