स्थानीय समूहको धम्कीपछि वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा गरे उडान स्थगन

पुस २१, २०८१

सुरज कुँवर

Airline operators suspended flights to Khumbu region after threats from local groups

काठमाडौँ — सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै वायुसेवा सञ्चालक संघले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान अनिश्चितकालका लागि स्थगन गरेको छ । 

संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेका अनुसार, आइतबारदेखि त्यस क्षेत्रमा हुँदै आएका उद्धार, चार्टर तथा व्यावसायिक उडान स्थगन भएका हुन् । हेलिकोप्टर उडानले वातावरण तथा निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थानमा चुनौती थपिएको भन्दै पुस १७ देखि उद्धारबाहेक पर्यटकका लागि हुने चार्टर उडान रोकिएको हो । यसैलाई सञ्चालन गर्न शुक्रबार गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसहित सरोकारवालाहरूको बैठक बसेको थियो । उक्त बैठकले प्रमुख जिल्ला अधिकारीलाई समस्या हल गर्न निर्देशन दिएको थियो । 

यसैबीच स्थानीय युवा समूह, क्लबलगायत सरोकारवालाहरूले हेलिकोप्टर अवतरण भएमा चालकलाई समातेर कारबाही गर्ने जस्ता अभिव्यक्ति सञ्चारमाध्यममार्फत व्यक्त गरेका कारण हेलिकोप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म त्यस क्षेत्रका सबै उडान वायुसेवा कम्पनीले अनिश्चितकालका लागि स्थगन गरेको पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् ।

‘यो निर्णयबाट यात्रु महानुभाव तथा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति वायुसेवा सञ्चालक संघ क्षमायाचना गर्दछ,’ उपाध्यक्ष पाण्डेले विज्ञप्तिमा लेखेका छन् । जनवरी १ तारिखदेखि उनीहरूले त्यस क्षेत्रमा आपत‍्कालीन उडानबाहेक अरू उडान गर्न नपाइने भन्दै हाल खुम्बु क्षेत्रका हेलिप्याडमा स्थानीयले झण्डा गाडेर अवरोध गरेका छन् ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully