पोखरा — सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेसहित ७ जनाविरुद्ध कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।
गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीका तर्फबाट आइतबार वरिष्ठ अधिवक्ता शम्भू थापाले बहस गरे । सोमबारबाट लामिछाने पक्षका वकिलको बहस सुरु हुने बताइएको छ ।
न्यायाधीश नीतिज राईको इजलासमा चलिरहेको थुनछेकमा जोशीका तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र अधिवक्ता अपूर्व खतिवडाले बहस गरेका थिए । लीला पछाईको तर्फबाट अधिवक्ता गणेशबहादुर भट्टराईले शुक्रबार बहस सुरु गरेका थिए ।
आइतबार भट्टराईले आफ्नोतर्फको बहस सकेपछि जोशीका तर्फबाट शम्भू थापाले बहस गरे । उनले हद म्याद नाघेर जोशीसहितलाई मुद्दा दायर गरिएको तर्क इजलासमा गरेका थिए । जोशी सूर्यदर्शनको सेयर सदस्य नरहेकोले सहकारीको दायित्व सञ्चालक समितिले लिनुपर्ने उनले बताए । ‘पहिला मुद्दा दर्ता हुँदा नै गोर्खा मिडिया र नेचर हर्ब्समा रकम गएको भनिएको छ, यो अहिले पत्ता लागेको तथ्य होइन,’ उनले भने, ‘नयाँ अभियोग त्यतिबेला आउने हो जब नयाँ तथ्य पत्ता लाग्छ ।’
जोशीका तर्फबाट ६ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका थिए । तीमध्ये बाँकीले बहस गर्न चाहेमा सोमबार समय दिइने र जोशीतर्फका सकिएपछि लामिछाने पक्षका कानुन व्यवसायीको बहस सुरु हुने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।
लामिछानेपक्षका कानुन व्यवसायी यज्ञमणि न्यौपानेले जोशीतर्फको बहस सकिएको र सोमबारबाट लामिछाने पक्षको बहस थालनी हुने बताए । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त, रमण श्रेष्ठ, हरि सुवेदी, डा.नारायण घिमिरे, सुरेन्द्र थापा, अधिवक्ताहरू डा.नारायण कँडेल, रोहितराज बाँस्तोला, राजेन्द्र बजगाई, सुविज्ञ पन्त लगायतले बहस गर्ने छन् ।
लामिछानेपछि रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङपक्षका कानुन व्यवसायीको बहस हुने छ ।
