सडक दुर्घटनामा हुने मानवीय क्षति घटाउन ट्रमा सेवा विस्तार गर्ने घोषणा भएको चार वर्षमा अध्ययन नै भएन, बजेट भने निरन्तर विनियोजन
काठमाडौँ — सरकारले प्रमुख राजमार्गका बढी दुर्घटनाग्रस्त क्षेत्रमा ट्रमा सेवा विस्तार गर्ने घोषणा गरेको ४ वर्ष बितेको छ । तर सेवा विस्तारका लागि बढी दुर्घटना हुने स्थानको पहिचान र नक्सांकन नै थालिएको छैन । प्रमुख राजमार्गमा ट्रमा सेवा नहुँदा सडक दुर्घटनामा परेका अधिकांश घाइते उपचारका लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । समयमा उपचार नपाउँदा कतिपय घाइतेले ज्यान गुमाउने गरेका छन् ।
मुलुकका मुख्य राजमार्गमा पूर्व–पश्चिम, पृथ्वी, बीपी, त्रिभुवन, अरनिको, मेची, कोशी, सगरमाथा, सिद्धार्थ, राप्तीलगायत छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विगत १० वर्षमा सडक दुर्घटनामा परेर २४ हजार ९५ जनाले ज्यान गुमाएका छन् भने ५० हजारभन्दा बढी गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा मात्र २ हजार ३ सय ६९ जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको महाशाखाले जनाएको छ । यसरी हेर्दा सडक दुर्घटनाका कारण हरेक दिन ७ जनाको मृत्यु हुने गरेको छ ।
सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत प्रमुख राजमार्गमा ट्रमा सेवा विस्तार गर्ने घोषणा गरेको थियो । सरकारले ट्रमा सेवा सञ्चालनमा ल्याउने सम्बन्धमा २०७७ मा कार्यविधि पनि बनाएको थियो । ट्रमा सेवा सञ्चालन कार्यविधि २०७७ को दफा ६ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरी बढी दुर्घटना हुने स्थानलाई नक्सांकन गरी पायक पर्ने स्थानमा रहेको स्वास्थ्य संस्थामा ट्रमा उपचारको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले स्वास्थ्य मन्त्रालयले चाहेको खण्डमा दुर्घटनाग्रस्त क्षेत्रको अध्ययनका लागि समन्वय गर्न तयार रहेको बताए ।
कार्यविधिमा ट्रमा सेवालाई १ देखि ५ तहमा वर्गीकरण गरिएको छ । सबैभन्दा माथिल्लोस्तरको पाँचौं तहको सेवामा २४ घण्टा खटिने मेडिकल अफिसर, फिजिसियन डाक्टर, हेल्थ असिस्टेन्ट, तालिम प्राप्त नर्स, पारामेडिक्स, एक्सरे टेक्निसियन रहनुपर्ने व्यवस्था छ । उपकरणमा भेन्टिलेटर, मनिटर, स्पाइनल ब्याक वार्ड, अपरेसन थिएटर, एक्सरे, ईसीजीलगायत हुनुपर्ने मापदण्ड छ । विज्ञहरूका अनुसार सामान्यतया सुविधासम्पन्न एउटा ट्रमा युनिट सञ्चालनमा ल्याउन १५ देखि २० करोड रुपैयाँ आवश्यक पर्छ । एउटा एम्बुलेन्स मात्रै एक करोड रुपैयाँ पर्छ । अपरेसन थिएटर बनाउन एक करोडभन्दा बढी खर्च हुन्छ ।
स्वास्थ्य मन्त्रालयले भने आवश्यक अध्ययनलगायतका तयारीसमेत नगरी चालु आर्थिक वर्षमा विभिन्न ठाउँमा भवन बनाउन भन्दै २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा भवन बनाउन धादिङको बेल्खु र कैलालीको लम्कीमा ५०/५० लाख रुपैयाँ, पश्चिम नवलपरासीको बर्दघाट र डोटीको जोरायल गाउँपालिका–२ बुडरमा एक/एक करोड रुपैयाँ छुट्याएको छ । पूर्व नवलपरासीको देवचुलीमा ५ करोड, बाराको पथलैया/सिन्धुलीको कमलामाई शिवनगरमा २ करोड, रूपन्देहीको सैनामैना नगरपालिकामा ४ करोड, दैलेखको राकम कर्णालीमा ६ करोड र डडेलधुरा अस्पतालका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
तर नक्सांकन र जग्गा प्राप्तिजस्ता तयारी नहुँदा विनियोजित बजेट खर्च हुने स्थिति छैन । मन्त्रालयले बहुवर्षीय ठेक्काका लागि स्रोतसमेत सुनिश्चित गरेको छैन । सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर दीपक श्रेष्ठले अधिकांश स्थानमा भवन बनाउन जग्गाकै समस्या रहेको बताए । ‘अहिले छुट्याइएको बजेटले भवन निर्माण सम्पन्न गर्न गाह्रो पनि छ,’ उनले भने, ‘आधा बनाएर छोड्नुपर्ने देखिएकाले स्वास्थ्य मन्त्रालयले बहुवर्षीय ठेक्काको स्रोत सुनिश्चितता नगरेसम्म काम अगाडि बढाउन कठिनाइ छ ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अध्ययन गरेर बजेट छुट्याउनुपर्नेमा त्यसो नभएको स्वीकार गरे । ‘अहिले स्थानीय तथा प्रदेश सरकारले माग गरेबमोजिम बजेट विनियोजन गरिएको हो,’ उनले भने, ‘अध्ययन गरेर बजेट विनियोजन गर्न सके ट्रमाका बिरामी उपचारकै लागि राजधानी धाउनुपर्ने बाध्यता हट्छ ।’
राष्ट्रिय ट्रमा सेन्टरका पूर्वनिर्देशक डा. सन्तोष पौडेल बजेट टुक्र्याएर विनियोजन गर्नुभन्दा प्रत्येक वर्ष एउटा राजमार्गमा एउटा मात्र ट्रमा सञ्चालन सुरु गर्न अघि बढ्नुपर्ने बताउँछन् । ‘नयाँ भवन बनाउन बजेट छुट्याउनुभन्दा बढी दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरेर त्यहाँ वरिपरि सञ्चालन हुँदै आएको प्राथमिक स्वास्थ्य चौकी, जिल्ला वा प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न बजेट व्यवस्थापन गर्नुपर्छ,’ उनले भने ।
चालु आर्थिक वर्षमा छुट्याइएको २३ करोड रुपैयाँले दुई वटासम्म ट्रमा युनिट सञ्चालन गर्न सकिने डा. पौडेलको भनाइ छ । ‘नयाँ भवन बनाएर छुट्टै ट्रमा युनिट सञ्चालनमा ल्याउन जनशक्तिलगायतका कारण निकै कठिन छ,’ उनले भने, ‘नयाँ भवन बनाएर छुट्टै युनिट स्थापना गरे पनि केही गरी ट्रमाका बिरामी महिनौं दिनसम्म नआए खर्च धान्न सकिँदैन । त्यस्ता युनिटमा ठूलो दुर्घटना भएर एकै पटक धेरै बिरामी आए उपचार गराउन पनि गाह्रो हुन्छ ।’
