भएका अस्पताललाई व्यवस्थपित बनाउनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल 

पुस १९, २०८१

ज्योती श्रेष्ठ

The existing hospitals should be organized: Health Minister Paudel

काभ्रे — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भएका अस्पताललाई व्यवस्थपित बनाउनुपर्नेमा जोड दिएका छन् ।

बनेपामा शुक्रबार आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ३२ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले नयाँ अस्पताल निर्माण गर्नेभन्दा पनि भएका अस्पताललाई व्यवस्थित, गुणस्तरीय सेवा प्रदान गर्न सरकार केन्द्रित रहेको बताए । ग्रामीण तथा दुर्गम क्षेत्रमा अस्पताल गर्न आवश्यक रहेको उनको भनाइ छ । 

‘सहरी क्षेत्रमा अब नयाँ अस्पताल निर्माणका लागि जग खन्न आवश्यक छैन, भएका अस्पतालहरुलाई व्यवस्थित बनाउन जरुरी छ, अस्पतालमा पर्याप्त मात्रामा उपचारका लागि चाहिने उपकरण तथा सामग्रीहरु छैनन्, आवश्यकता अनुसारका जनशक्ति छैन, पूर्वाधारहरु पनि व्यवस्थित छैनन्, यिनै कुरालाई व्यवस्थित गर्नु आजको दायित्व हो,’ उनले भने । 

क्यान्सरपीडित १४ वर्षमुनिका बालबालिकालाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरी कार्यान्वयनसमेत गरेको जनाउँदै सरकारले स्वास्थ्योपचार प्रणालीमा काम गरेरमात्र नहुने, रोगका निवारणका लागि चेतना विस्तारका कार्यक्रम पनि सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । ‘स्वास्थ्योपचार प्रणालीमा केही काम थपेर समस्या समाधान हुँदैन, बिरामीहरुको उपचार गर्ने राज्यको दायित्व हो, उपचारलाई व्यवस्थित र सर्वशुलभ बनाउने, उपचारका निम्ति संस्थाहरु निर्माण गर्नु सराहनीय छ,’ उनले भने, ‘तर, यो ढंगबाट बिरामी बढ्दै जाने हो भने राज्यले सबैलाई निःशुल्क उपचार गराउन सक्दैन, सर्वशुलभ तरिकामा सरकारले उपचार गराउन सक्दैन, त्यसैले अब हामी नेपाली कसरी निरोगी बनाउन सक्छौं भन्ने कुरामा सरकारकेन्द्रित भएको छ ।’

ठूलादेखि साना तहका ५ तहका सरकारी अस्पतालमध्येका एकमा अर्बुदको निरोधात्मक क्षेत्रमा काम गर्ने सरकारले लक्ष्य राखेको उनले सुनाए । उनका अनुसार विशिष्टकृत तथा प्राथमिक उपचार सेवा वडाका स्वास्थ्यचौकीबाटै प्रदान गर्ने सरकारको योजना छ । 

कार्यक्रममा संस्थाका अध्यक्ष अर्बुद रोग निवारणका लागि सरकारले चेतना विस्तार एवं निरोधात्मक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए । उनका अनुसार, रोगबारेमा सचेत भएर बेलैमा उपचार पाए ९० प्रतिशत रोग निको पार्न सकिन्छ । 

भक्तपुर क्यान्सर सरकारलाई हस्तान्तरण

नेपाल अर्बुद रोग निवारण संस्थामार्फत सञ्चालनमा आएको नेपालकै पहिलो क्यान्सर अस्पताल भक्तपुर क्यान्सर सरकारलाई हस्तान्तरण गरिएको छ । संस्थाको ३४ औं केन्द्रीय सभाको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल अर्बुद रोग निवारण संस्थाबीच भएको सम्झौताअनुरुप स्वास्थ्यमन्त्री पौडेललाई सहमति पत्र हस्तान्तरण गरिएको हो । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully