बझाङमा जीप दुर्घटना : चालकसहित पाँच जनाको मृत्यु

पुस १९, २०८१

वसन्तप्रताप सिंह

Jeep accident in Bajhang: Five people died including the driver

बझाङ — बझाङमा भएका दुई वटा  छुट्टाछुट्टै  जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बिहीबार राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको से १ ज ८४३ नम्बरको जीप तलकोट गाउँपालिका–२ सुकगाडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

 मृत्यु हुनेमा जीप चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीको छोरी पाँच वर्षीया आकृती धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले जानकारी दिए ।

दुर्घटना भएको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । चालक सहित तीन जनाको घटना स्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

यस्तै, शुक्रबार राति नै करिब नौ बजे तिर मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ आउदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जीप चालक धर्म थापाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चालक मात्रै सवार रहेको उक्त जीप सडकबाट एक सय मिटर तल खसेको प्रहरी सहायक निरिक्षक जय बहादुर डाँगाले बताए ।

वसन्तप्रताप सिंह सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully